पञ्चकन्या र दुप्चेश्वरका विद्यालय नर्स र शिक्षकलाई महिनावारी स्वच्छतासम्बन्धी तालिम सम्पन्न
नुवाकोट,मंसिर १३ — पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत विद्यालय नर्स र स्वास्थ्य शिक्षा अध्यापन गर्ने शिक्षकहरूलाई लक्षित गरी आयोजित महिनावारी स्वच्छता तथा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। तालिम मङ्सिर ११ र १२ गते सञ्चालन गरिएको थियोे ।
तालिममार्फत सहभागीहरूलाई किशोर–किशोरीको शारीरिक तथा मानसिक स्वास्थ्य, महिनावारीका बेला अपनाउनुपर्ने स्वच्छता, विद्यालयमै सुरक्षित तथा सहज वातावरण निर्माण, समुपदेशन कौशल, तथा प्रजनन स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा दुवै गाउँपालिकाका विद्यालय नर्स, स्वास्थ्य विषयका शिक्षक र सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले विद्यालय तहमै स्वास्थ्य शिक्षालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
तालिम सम्पन्नसँगै विद्यालयहरूमा महिनावारीमैत्री वातावरण विस्तार, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवर्द्धन तथा संवेदनशील विषयहरूको उचित व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ।

