ताप्लेजुङमा सम्पन्न अन्तर क्लबस्तरीय फुटबलमा गणेशचोक क्लब विजयी, पुरस्कारमा १३१ केजी अलैँची



ताप्लेजुङ,मंसिर १३ — ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेशचोक क्लब विजय हुँदै विशेष प्रकृतिको पुरस्कार— १३१ किलो अलैँची— हात पारेको छ।

बिहीबार सम्पन्न फाइनल खेलमा गणेशचोक क्लबले हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार विजेता गणेशचोक क्लबले रु. ३,०२,०८२ बराबरको तीन मन ११ किलो (१३१ केजी) अलैँची, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। ताप्लेजुङमा बिहीबार प्रतिमन (४० केजी) अलैँचीको मूल्य रु. ९२ हजार निर्धारण गरिएको थियो, सोही दरअनुसार पुरस्कार बराबरको अलैँची तौलिएर वितरण गरिएको हो।

त्यसैगरी उपविजेता तोक्पेगोला युथ क्लबलाई रु. १,५०,०८२ बराबरको करिब ६५ किलो अलैँची, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समितिले जनाएको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नगद बराबरको अलैँची पुरस्कार’ राखिएको यो प्रतियोगिता जिल्लाभित्रै विशेष आकर्षण बनेको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्