सडक मर्मत एम्बुलेन्सको सुरुआत, गुनासो तत्काल सम्बोधन गरिने : मन्त्री घिसिङ



काठमाडौँ,मंसिर १३ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतसम्बन्धी गुनासोलाई अब तत्कालै समाधान गरिने बताएका छन्।

शुक्रबार काठमाडौँ सडक डिभिजन कार्यालयले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स कार्यक्रमको सुरुआत गर्दै मन्त्री घिसिङले यो सेवा नेपालको लागि नमूना परियोजना भएको बताए।

“सडक एम्बुलेन्स नेपालमा नमूनाका रूपमा प्रयोगमा ल्याइएको छ। यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरिनेछ,” मन्त्री घिसिङले भने, “विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरेर सडक मर्मत सेवा अझ प्रभावकारी बनाइनेछ।”

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले एम्बुलेन्स प्रयोगले सडक मर्मतसम्बन्धी गुनासो छुट्टै र छिटो समाधान हुने विश्वास व्यक्त गरे।

त्यसैगरी काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी र पारदर्शी बनाउन यो सेवा महत्वपूर्ण हुने बताए।

सडक मर्मत एम्बुलेन्स सञ्चालनमा आएपछि ३६५ दिन, २४ घण्टा तयारी अवस्थामा रही सडकमा देखिने समस्या तुरुन्तै मर्मत गर्न सकिने र सहज आवागमन सुनिश्चित हुने डिभिजन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्