विदेशिएका युवामध्ये ५१० को चार महिनामै मृत्यु, दैनिक औसत चार शव फर्किने दर्दनाक अवस्था
काठमाडौँ, मंसिर १३ — विप्रेषणले टिकेको अर्थतन्त्रको चमक पछाडि नेपाली युवाको विदेशमा भइरहेको अकाल मृत्युको पीडा अझै पनि भयावह रूपमा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामै ५१० नेपाली श्रमिकले विदेशी भूमि मै ज्यान गुमाएका छन्।
यो संख्या विश्लेषण गर्दा मासिक १२७ र दैनिक चार शव बन्द बाकसमा ल्याइँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने गरेकाले अवस्था निकै गम्भीर छ। बोर्डका अनुसार यो संख्या ती श्रमिकका परिवारले कल्याणकारी कोषबाट भएको क्षतिपूर्ति दाबीका आधारमा मात्र हो। सहायता नलिएका वा मापदण्डमा नपरेका श्रमिक समेटे अझै धेरैको विदेशमै मृत्यु हुने तथ्य फेला पर्न सक्ने विशेषज्ञहरूको भनाइ छ।
चार महिनाको अवधिमा मृतकका परिवारले ५१ करोड रुपैयाँ आर्थिक सहायता पाएका छन्। मृतक श्रमिकका परिवारलाई बोर्डले प्रतिव्यक्ति १० लाख रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ। यसै अवधिमा विभिन्न दुर्घटनाबाट २९५ नेपाली श्रमिक अङ्गभङ्ग भएका छन् र उनीहरूले एक लाखदेखि १० लाख रुपैयाँसम्मको सहयोग प्राप्त गरेका छन्।
२०६५/६६ देखि हालसम्म बोर्डमा सूचीकृत १५ हजार ३५८ नेपाली श्रमिकले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाइसकेका छन्। यसमा सबैभन्दा धेरै मृत्यु मलेसियामा भएको पाइएको छ। अन्य देशमध्ये कतार, साउदी अरब, कुवेत र यूएईमा पनि नेपाली श्रमिकको मृत्यु दर उच्च नै छ।
चालु आवका चार महिनामा मात्र २ लाख ८३ हजार ६१० नेपाली युवा वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये ५१० को मृत्यु हुनु नेपालका श्रम विशेषज्ञका दृष्टिमा ‘अस्वाभाविक र चिन्ताजनक’ अवस्था मानिएको छ। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले सहायताका सेवाबारे जनचेतना बढेपछि सहायता लिन आउने संख्या बढेको बताए। अनलाइन सेवाबाट प्रक्रियाहरू सहज भएपछि सहयोग रकम वितरणमा पारदर्शिता पनि बढेको बोर्डले जनाएको छ।
नेपालमा १८ देखि ४५ वर्ष उमेर समूहको मृत्यु दर र विदेशमा त्यही उमेर समूहको मृत्यु दरबारे कुनै पनि गहिरो अध्ययन नभएकाले मृत्युको वास्तविक कारण पहिचान गर्न कठिनाइ भइरहेको विशेषज्ञहरू बताउँछन्। श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार विदेशमा भइरहेको मृत्यु दर ‘पूर्ण रूपमा रोक्न नसकिए पनि प्रभावकारी सरकारी प्रयत्नले धेरै हदसम्म घटाउन सकिने’ थियो।
वैदेशिक रोजगार बोर्डको २०८१/८२ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष १,५१७ नेपाली श्रमिकले विभिन्न कारणले विदेशमै ज्यान गुमाएका थिए। मृत्युका कारणमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, प्राकृतिक कारण, हृदयाघात र आत्महत्या मुख्य रूपमा रहेका छन्।
यी तथ्यांकहरूले वैदेशिक रोजगारमा जाने नेपाली युवाको जीवन कत्तिको जोखिममा छ भन्ने स्पष्ट देखाउँछ। सुरक्षित श्रम गन्तव्य, गुणस्तरीय स्वास्थ्य परीक्षण, सुरक्षाको ग्यारेन्टी, तालिम र प्रभावकारी नियमनबिना विदेशिने क्रम यस्तै दुःखद भइरहने विज्ञहरूको चेतावनी छ।

