एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौं,मंसिर १३ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई रोचक खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् भने अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने कार्यक्रम रहेको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले हालसम्म चारमध्ये एक खेल जितेको छ । कुशल भुर्तेल कप्तान रहेको पोखराले पनि तीन खेलमा एक मात्र जित हात पारेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ स्थानमा छ भने पोखरा छैटौँ स्थानमा रहेको छ । प्लेअफको सम्भावना जोगाइराख्न दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने स्थिति छ ।
अपराह्न हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सको चुनौती सामना गर्नेछ । तीन खेल खेलेर एक अङ्क समेत नसकेको जनकपुर पुछारमा रहेको छ र प्लेअफ दौडमा टिक्न आजको खेल जित्नु नै अनिवार्य छ ।
उता अपराजित सुदूरपश्चिमले चारै खेल जितेर तालिकाको शीर्ष स्थान कायम गरेको छ । आजको खेल जिते सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नेछ । साथै गत संस्करणको फाइनलमा जनकपुरसँग अहिले हार बेहोरेकाले आजको खेलमार्फत त्यसको बदला लिन सुदूरपश्चिम उत्साहित देखिएको छ ।
आज हुने दुवै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा राखिएको छ ।

