वडाध्यक्ष सम्पर्कविहीन



स्याङ्जा,मंसिर १३ । पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि बाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कविहीन भएका छन् । २०८० भदौ १५ गते उपचारको कारण देखाउँदै उनी विदेश जाँदा वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

थापाले २०८०–८१ को चलानी नं १६७ को पत्रमार्फत दैनिक रूपमा उपस्थित रहि काम गर्न नसक्ने भएकाले प्रत्यायोजित अधिकार दुरुपयोग नहुने गरी कार्यवाहक जिम्मेवारी प्रदान गरेको उल्लेख गरेका थिए । त्यसपछि उनी विदेशतर्फ प्रस्थान गरेका थिए ।

थापा अहिले अमेरिकामा रहेको खुलासा भएको छ । कार्यवाहक वडाध्यक्ष पौडेलका अनुसार थापा कहिले फर्किने भन्ने कुनै जानकारी छैन । जिम्मेवारी सम्हालेपछि जनताको काम नरोकिने गरी आफू निरन्तर सक्रिय रहेको बताउँदै पौडेलले थापाको प्रतिक्षामा बसेको बताइन् ।

नगरपालिकालाई समेत वडाध्यक्ष थापाको अवस्थाबारे आधिकारिक जानकारी नभएको पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले बताए । प्रशासन, अदालत र नगरपालिकालाई बोधार्थ पत्र दिएर जिम्मेवारी हस्तान्तरण गरेर हिँडे पनि थापा कहाँ, कुन अवस्थामा छन् भन्ने विषयमा कुनै विवरण प्राप्त नभएको उनले बताए ।

यता वडाध्यक्ष विदेशमा रहेकै बेला २०८० भदौदेखि २०८१ असारसम्म पालिकाले थापाका लागि यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, अतिथि सत्कार, समन्वय सहजीकरण, बैठक तथा अनुगमन लगायतका शीर्षकमा रु २ लाख ७६ हजार १९० भुक्तानी गरेको निस्किएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले आफू कार्यालयमा जिम्मेवारी सम्हालेयता थापा नगरको सम्पर्कमा नरहेको पुष्टि गर्दै २०८१ साउनयता उनका सेवा सुविधा रोकिएको जानकारी दिए ।

थापा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सम्पर्कविहीन भएको विषयमा पार्टीसँग कुनै समन्वय नभएको नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्