नुवाकोट क्षेत्र नं. १ बाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन
नुवाकोट,मंसिर १३— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। जिल्ला अध्यक्ष बद्री मैनालीका अनुसार क्षेत्रीय तहबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रतिनिधि सूची टुंगो लगाएको हो।
महाधिवेशन प्रतिनिधिमा जिल्ला अध्यक्ष बद्री मैनाली, काशीराज अधिकारी, निलकण्ठ आचार्य, मिलन लामा र युवातर्फबाट बसन्त न्यौपाने छन्। त्यस्तै महिला प्रतिनिधिका रूपमा कमला पाण्डे र मोनिका थापा सर्वसम्मत रूपमा चयन भएको मैनालीले जानकारी दिए।
उहाँका अनुसार प्रतिनिधि छनोटका विषयमा बाहिर फैलिएका हल्ला सत्य नभएको र पार्टीभित्र सहमतिका आधारमै नाम टुंगो लगाइएको हो। प्रतिनिधि सूचीमा नाम नपरेको भन्दै केही कार्यकर्ताले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरे पनि त्यसलाई क्षणिक भावनात्मक कदम भन्दै अब सबै मिलिसकेको अध्यक्ष मैनालीले बताए।
महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा पार्टीका प्रभावशाली नेता पूर्णलाल श्रेष्ठ र प्रदेश सभापति श्यामराज पाठकले प्रारम्भिक असन्तुष्टि जनाए पनि अहिले सहमति कायम भएको मैनालीको भनाइ छ। उनका अनुसार पार्टी कार्यालय पुनर्निर्माणका लागि १० हजार योगदान तोकिए पनि महाधिवेशन प्रतिनिधिसँग मात्र एक हजार शुल्क लिइएको छ।
यसअघि नुवाकोट क्षेत्र नं. २ बाट पनि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेको छ। नुवाकोटमा समग्र रूपमा केपी शर्मा ओली पक्षको प्रभाव देखिएको छ। क्षेत्र नं. १ मा ओली पक्षको शतप्रतिशत प्रभाव रहेको र क्षेत्र नं. २ मा पोखरेल पक्ष तथा ओली पक्षबीच भागबण्डा मिलाइएको बुझिएको छ।
एमालेको ११औँ महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि चयनको प्रक्रिया सम्पन्न हुँदैछ। अधिकांश ठाउँमा सहमतिमै चयन भए पनि केही स्थानमा विवाद भएको बताइएको छ। आगामी मंसिर २७ गते भक्तपुरमा महाधिवेशनको उद्घाटन कार्यक्रम तय गरिएको छ।

