राप्रपा शिवपुरी गाउँपालिकाको अधिवेशन सम्पन्न, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन



नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवपुरीको अधिवेशन सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुदर्शन बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिका सदस्यहरूमा जनकराज पाण्डे, अर्जुनप्रसाद कँडेल, राजु थापा, भरतप्रसाद पाठक, माधव कँडेल, लालबहादुर सुनार, सुन्दरप्रसाद पाण्डे, भुवन थपलीया, बुद्धिमान तामाङ, काइली तामाङ, हरिप्रसाद रिमाल र आइतमाना तामाङ रहेका छन्। यसबारे जानकारी पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लोहनीले राप्रपाको जनस्तरमा अझै पनि उच्च सम्भावना रहेको उल्लेख गर्दै पार्टीलाई जनतासँग मजबुत रूपमा जोड्न सके मुलुकमा वैकल्पिक शक्ति बन्न सकिने बताउनुभयो। उहाँले ठूला दलहरूको असफलताका कारण देश कठिन अवस्थामा पुगेको दाबी गर्दै अब निर्वाचनमार्फत आउने संसदले राष्ट्रको निकास निकाल्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी केन्द्रीय सदस्य जनकराज पाठकले राप्रपालाई प्रभावशाली राजनीतिक शक्ति बनाउने जिम्मेवारी नेता–कार्यकर्तामाथि रहेको भन्दै आगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

अधिवेशन राप्रपा इकाई अध्यक्ष सुदर्शन बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीलगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अन्त्यमा नव–निर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई प्रमुख अतिथि डा. लोहनीले प्रमाणपत्र प्रदान गर्दै शुभकामना दिनुभयो।

प्रतिक्रिया दिनुहोस्