देश समृद्धिका लागि सहि नेतृत्व आवश्यक भएको मन्त्री घिसिङको भनाइ



धरान,मंसिर १५— ऊर्जा तथा पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमा पर्याप्त स्रोतसाधन र सम्भावना हुँदाहुँदै पनि देश अघि नबढ्नुमा सहि समयमा सहि नेतृत्वको अभाव प्रमुख कारण भएको बताउनुभएको छ। धरान–१५ स्थित ङाग्युर ञीङ्गा ङ्युङने ल्हाखाङ गुम्बामा आयोजित १२०० प्राचीन गुरु रिन्पोछे लिला, दस करोड बज्र गुरु जप तथा विश्वशान्ति पूजामा सम्बोधन गर्दै उहाँले ‘समृद्ध नेपाल’ बनाउन मानव पूँजीको प्रभावकारी प्रयोग, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारीमा सुधार अनिवार्य भएको उल्लेख गर्नुभयो।

उहाँले नेपालमा जलविद्युतको ८३ हजार मेघावाट क्षमता रहेको, विगतमा ५०० मेघावाट मात्र उपयोग भए पनि पछिल्लो वर्षहरूमा उत्पादन १० हजार मेघावाटसम्म पुगेको र करिब १५ सय मेघावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। पर्यटन, जलविद्युत र अन्य क्षेत्रमा विशाल सम्भावना भए पनि त्यसलाई अघि बढाउन सक्षम नेतृत्व अपरिहार्य भएको उहाँको भनाइ थियो।

राजनीतिक परिवर्तन मात्रले देश नबन्ने यो ७५ वर्षको अनुभवले देखाएको भन्दै मन्त्री घिसिङले मतदातालाई आगामी निर्वाचनमा सहि नेतृत्व छान्न आग्रह गर्नुभयो। मंसिर ९ देखि १९ गतेसम्म चल्ने विश्वशान्ति पूजामा अवतारी लामाको विशेष उपस्थिति रहने गुम्बाका अध्यक्ष लोकबहादुर तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्