एमाले महाधिवेशनमा प्रतिस्पर्धा खुला रहने, सहमतिबाट नेतृत्व चयनको प्रयास हुने : अध्यक्ष ओली
काठमाडौं,मंसिर १५— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहने भए पनि सहमतिबाट नेतृत्व चयन गर्ने प्रयासलाई प्राथमिकता दिने बताउनुभएको छ। एमाले महाधिवेशन प्रचार समितीद्वारा आइतबार केन्द्रीय कार्यालयमा आयोजित महाधिवेशनको प्रतीकचिह्न (लोगो) सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेतृत्वको पुस्तान्तरण र पुनर्गठन अधिवेशनको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले कमिटीमा आवश्यकताअनुसार परिवर्तन, पुनर्गठन र पुस्तान्तरण हुने भएकाले त्यसबारे अतिरञ्जित विवाद आवश्यक नभएको बताउँदै महाधिवेशनमा जो–कसैले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउने स्पष्ट पार्नुभयो। उहाँले भने, “महाधिवेशनमा कसैलाई रोकथाम गर्ने कुरा हुँदैन। प्रतिस्पर्धा खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले पूर्ण अवसर पाउँछ।”
यद्यपि, आफ्नो अध्यक्षीय जिम्मेवारीबाट सहमतिमै नेतृत्व चयन गर्न आग्रह जारी रहने जनाउँदै उहाँले पार्टीभित्र परस्पर सम्मानको संस्कृति विकास आवश्यक रहेको टिप्पणी गर्नुभयो। “एकअर्कालाई होच्याउने, अपमान गर्ने संस्कार किन चाहिन्छ ? सहमतिका साथ अघि बढ्न सक्छौँ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले मुलुकमा पुनः अन्यौलता, अराजकता वा अशान्ति फर्कन नदिन हासिल उपलब्धिहरू जोगाउन सबै दल र नागरिक सजग हुनुपर्नेमा जोड दिनुभयो। उहाँले द्रुत विकास र स्थिरताको मार्ग लोकतान्त्रिक पद्धतिबाटै सम्भव हुने बताउँदै अनियन्त्रित शक्ति प्रवृत्ति र लुटतन्त्रको पुनरागमन अस्वीकार्य हुने उल्लेख गर्नुभयो।
कार्यक्रमका संयोजक पद्मा अर्यालले महाधिवेशनको प्रतीकचिह्नले एकताको सन्देश प्रवाह गर्ने बताउँदै प्रचारप्रसार अझ तीव्र बनाइने जानकारी दिनुभयो। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूको उपस्थिति थियो।

