देशभर १६८ नयाँ मतदानस्थल थप, ९३ खारेज—अब कुल १०,९६७ मतदानस्थल



काठमाडौं,मंसिर १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको समायोजन तथा पुनरवलोकन सम्पन्न गरेको जनाएको छ। आयोगले मतदाताको पहुँच सहज र व्यवस्थित बनाउन १६८ नयाँ मतदानस्थल थप गरेको छ भने ९३ मतदानस्थल खारेज गरिएको छ।

आयोगका अनुसार जीर्ण, अपायक तथा प्रयोगमा नरहेका मतदानस्थल हटाइएका छन् भने सुविधाजनक र पहुँचयुक्त स्थानमा नयाँ मतदानस्थल स्थापना गरिएको हो। यससँगै पहिलेका १० हजार ८९२ मतदानस्थलमा ७५ थपिएर अब देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन्।

पुनरवलोकनका क्रममा आयोगले मतदानस्थलका नाम तथा ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने कामसमेत गरिएको जनाएको छ।

आयोगले यस व्यवस्थाले आगामी निर्वाचनमा मतदाताको पहुँच, सुरक्षा र सहजतामा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्