कालीकोटमा विषयगत शिक्षक अभाव: एक विद्यालयले १९ औँ पटक विज्ञापन गर्यो



कालीकोट, मंसिर १५ — कालीकोटका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकको अभाव गम्भीर बन्दै गएको छ। गणित, विज्ञान र अङ्ग्रेजी विषयका दक्ष तथा लाइसेन्स प्राप्त शिक्षक नपाउँदा विद्यालयहरूले पटक–पटक विज्ञापन गरे पनि दर्खास्त नपर्ने समस्या दोहोरिँदै आएको छ।

नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छस्थित रूपादेवी माध्यमिक विद्यालयले गणित विषयको दरबन्दीका लागि १८ पटक विज्ञापन गर्दा पनि एक जना शिक्षक नपाएपछि हालै १९ औँ पटक आवेदन आह्वान गरेको छ। विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाका अनुसार गत वर्ष सङ्घीय अनुदान कोटामा प्राप्त दरबन्दीमा अहिलेसम्म दर्ता परेन। कात्तिक ३० मा गरिएको विज्ञापनमा पनि लाइसेन्स प्राप्त शिक्षक नपाएको उहाँले बताए।

विद्यालय रहेको क्षेत्र दुर्गम छ, जहाँबाट अर्को नजिकको विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नुपर्छ। ९० प्रतिशत दलित समुदाय बसोबास गर्ने उच्छवमा २०३५ सालमा स्थानीयले मानापाथी उठाएर विद्यालय स्थापना गरेका थिए। हाल बाल विकासदेखि कक्षा १० सम्म ३७५ विद्यार्थी अध्ययनरत छन्।

यसैगरी, शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माध्यमिक विद्यालयले पनि विज्ञान शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दा एक जनाले समेत दर्खास्त दिएनन्। आवेदन नपरेपछि विद्यालयलाई प्राप्त सङ्घीय अनुदान ‘फ्रिज’ भयो। बाध्य भएर विद्यालयले बिनालाइसेन्स विज्ञान शिक्षक नियुक्त गरेको छ। स्थानीय अभिभावकबाट मासिक २५ हजार संकलन गरेर विज्ञानमा स्नातक अमरबहादुर शाहीलाई अध्यापन गराइरहेको प्रधानाध्यापक सरस्वती बस्नेतले बताइन्। ५०१ मध्ये २८३ विद्यार्थी दलित समुदायका छन्।

दाहाल मावि सुकाटिया, जनता मावि छातीलगायतका विद्यालयले पनि आवश्यक विषयगत शिक्षक नपाउँदा अध्यापन प्रभावित भएको जनाएका छन्। शुभकालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज आचार्यका अनुसार स्थायी दरबन्दी नभएका १२ माध्यमिक विद्यालयलाई सङ्घीय अनुदानमार्फत प्रति शिक्षक ४३ हजार ६८९ रुपैयाँ उपलब्ध भए पनि शिक्षक अभावकै समस्या कायम छ।

पलाता गाउँपालिकाले पनि गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकका लागि विज्ञापन गर्दा दर्खास्त नआएपछि विद्यालयहरूलाई आफैँ खोज्न निर्देशन दिएको थियो। दुधेसिल्लो मावि बेर्सनकोटले तीन पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि छिमेकी विद्यालयका शिक्षकलाई फकाएर नियुक्ति गरेको प्रधानाध्यापक मानबहादुर रोकायाले बताए।

शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईका अनुसार विषयगत शिक्षक अभाव कालीकोटका नौ वटै स्थानीय तहको साझा समस्या बनेको छ। गणित, विज्ञान र अङ्ग्रेजी अध्ययन गर्ने विद्यार्थीले शिक्षणलाई प्राथमिकता नदिनुले समस्या चर्किएको उहाँको भनाइ छ।

कालीकोटका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षक नहुँदा विद्यार्थीहरूको अध्ययन गुणस्तरमा गम्भीर असर परेको स्थानीय अभिभावकले बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्