नुवाकोटको लिखुमा चार दिने एकीकृत पाठ्यक्रम कस्टमाइज्ड तालिम सम्पन्न
नुवाकोट, मंसिर १५ । लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा आयोजित चार दिने एकीकृत पाठ्यक्रम शिक्षक कस्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको तालिममा गाउँपालिकाका १३ सामुदायिक विद्यालयबाट ३९ जना शिक्षक सहभागी भएका थिए।
उद्घाटन सत्रमा लिखु गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, वडा नं. १ का अध्यक्ष नरहरी पाण्डे, क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीलगायतको उपस्थिति थियो।
उपाध्यक्ष अधिकारीले पालिकाको शैक्षिक अवस्था निरन्तर सुधारतर्फ उन्मुख रहेको उल्लेख गर्दै तालिमले शिक्षकको सीप अभिवृद्धि तथा शिक्षण–शिक्षण प्रक्रिया सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी थिइन ।
समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि अभिभावकको सक्रिय भूमिकासँग जोडिएको बताउँदै, तालिमले लिखु क्षेत्रको समग्र शैक्षिक स्तरमा सकारात्मक परिवर्तन ल्याउने धारणा राखे।
तालिम रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ, राधाकृष्ण हुमागाई, फुर्कु घले तथा स्थानीय प्रशिक्षक तुलसा झाक्री, सिताराम थपलिया र मधुसूदन पौडेलले सञ्चालन गरेका थिए। चार दिनसम्म चलेको तालिम मंसिर १५ गते औपचारिक रूपमा सम्पन्न भएको हो।

