प्रतिनिधि सभा निर्वाचन : समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, मंसिर १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनको विषयमा विविध अनुमान र संशय भइरहेका बेला आयोगले दल दर्ता प्रक्रिया सम्पन्न गर्दै कार्यालय स्थापना गरेपछि तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट सन्देश दिएको छ ।
कान्तिपथस्थित निर्वाचन आयोगमा सोमबार स्थापना गरिएको सो कार्यालयका निर्वाचन अधिकृत आयोगका सचिव महादेव पन्थ रहेका छन् । आयोग पदाधिकारीको मंसिर १२ गतेको निर्णयअनुसार पन्थलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो । सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव तथा कानुन–राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराई तोकिएका छन् ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीको समय तालिका पहिल्यै सार्वजनिक गरिसकेको छ । कार्यक्रमअनुसार मंसिर २१ देखि २३ गतेसम्म दलहरूले समानुपातिकतर्फ निर्वाचनमा भाग लिन निवेदन पेस गर्नुपर्नेछ । आयोगमा १२० राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दर्ता तथा एकल चुनाव प्रतीक प्रयोग गर्न निवेदन पेस गरिसकेका छन् । निवेदनस्वीकृत दलहरूको नामावली मंसिर २४ गते प्रकाशित हुनेछ ।
त्यस्तै, पुस १३ र १४ गते दलले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । माघ २० गते आयोगले कानुनअनुसार सबै निक्र्योल गरी अन्तिम बन्दसूची प्रकाशन गर्नेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
कार्यालय स्थापनाका अवसरमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक प्रणालीसम्बन्धी सबै कार्य एकै कार्यालयबाट हुने भएकाले सरोकारवालालाई सहज हुने बताए । उनले जातीय, भौगोलिक तथा लैङ्गिक विविधताअनुसार प्रतिनिधि चयन हुने भएकाले चुनाव प्रक्रियाप्रति सबै पक्षको भरोसा बढ्ने विश्वास व्यक्त गरे ।
यसैबीच अर्थमन्त्री रामेश्वर खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हा आयोगमा पुगेर आगामी निर्वाचन तयारीबारे छलफल गरेका छन् । अर्थमन्त्री खनालले निर्वाचनका लागि माग गरिएको बजेट अभाव नहुने प्रतिबद्धता जनाए भने कानुनमन्त्री सिन्हाले आवश्यक कानुनी सहयोग उपलब्ध गराउने आश्वासन दिए ।

