‘जेन्जी आन्दोलनले माओवादीको पुरानो एजेन्डा सहि सिद्ध गर्यो’- नेता राधिका तामाङ
नुवाकोट,मंसिर १६। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङले हाल जेन्जी युवाहरूले उठाइरहेको मुद्दा तत्कालीन माओवादीले धेरै अगाडि नै उठाएको दाबी गरेकी छिन्।
सोमबार तारकेश्वर–१, फलाटेमा रहेको पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयको ३०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उनले माओवादी पार्टीको प्रत्यक्ष कार्यकारी राष्ट्रपति तथा प्रधानमन्त्रीसम्बन्धी धारणा अहिले आएर सही सावित भएको बताइन्।
उनले भनिन “हामीले त्यतिबेलै प्रत्यक्ष कार्यकारी संरचनाको आवश्यकता महसुस गरेका थियौँ, तर सबै राजनीतिक शक्तिलाई एउटै ठाउँमा ल्याउन सम्झौता गर्नुपर्यो”।
नेतृ तामाङले पछिल्लो समय जेन्जी पुस्ताले उठाएका मागहरूले माओवादीले अघिदेखि नै ल्याएको परिवर्तनवादी एजेन्डालाई पुष्टि गरेको उल्लेख गर्दै “माओवादी सही छ, जनताको पक्षमा छ” भनी दाबी गरिन्।
त्यसक्रममा उनले वर्तमान सरकार जनतासम्म पुगेको र यसको प्रभाव जनस्तरमा देखिन थालेको उल्लेख गर्दै यसलाई अझ मजबुत बनाउने आवश्यकता औंल्याइन्। संघीयताको मर्म टाढा–दराजमा बसेका नागरिकले बढी अनुभूत गर्ने भएकाले यसको रक्षा सबैको दायित्व भएको पनि बताइन्।
स्थानीय तहका अध्यक्ष र वडा अध्यक्षहरूलाई अहंकार नदेखाई जनताको भावना र समस्याप्रति संवेदनशील हुन सुझाव दिँदै उनले भनिन “स्थानीय सरकार जनताकै घर हो, आफूलाई राजा ठान्नु हुन्न, जनताको सम्मान गर्न जान्नुपर्छ” ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौडे लामा, विद्यालय परिवार, स्थानीय जनप्रतिनिधि तथा समाजसेवी सोमबहादुर तामाङलगायतको सहभागिता थियो।

