बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु



धनकुटा,मंसिर १६ । गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको राम धुनीबाट तेह्रथुमको तीन जुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भई सडक डिलमा पल्टेर दुर्घटना भएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका बस चालक सुनसरीको राम धुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका ६० वर्षीय भुवन चौधरीको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

सुनसरीको राम धुनी–५ पिङ्क लोटस इङ्लिस स्कुलको बस दुर्घटना हुँदा बस चालक सहित २९ जना घाइते भएका थिए। घाइते हुने अन्य विद्यार्थी रहेकोमा उनीहरूको धनकुटा अस्पतालमा उपचार पछि केही घर फर्किएका छन् भने केहीको तराईका अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बसमा २२ छात्रा र १४ छात्र गरी ३६ विद्यार्थी, ३ जना शिक्षक र चालक तथा सहचालक गरी ४१ जना सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्