नवौं नुवाकोट महोत्सव माघमा, लिखु–छहरे महोत्सव घाटै घाटामा सकियो



नुवाकोट,मंसिर १६ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने ९औं नुवाकोट महोत्सव–२०८२ माघ ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवका लागि आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । महोत्सव भव्यताका साथ सफल बनाउने लक्ष्य राखिएको उनले बताए। महोत्सव बिदुर–४, बिदुरमा आयोजना हुँदैछ।

यसैबीच, नुवाकोटकै अर्को ठूलो आकर्षण मानिएको लिखु–छहरे महोत्सव भने सोमबार सम्पन्न भएको छ। मंसिर ३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सव अपेक्षित अवलोकनकर्ता नआएपछि कारोबार घाटामा गएको महोत्सव संयोजक नवराज ढुंगानाले जानकारी दिए।

उनका अनुसार खेतीपातीको व्यस्त समय, न्यून दर्शक तथा पहिल्यै तय गरिएको कलाकार खर्चकै कारण महोत्सव घाटामा गएको हो। पहिलो छहरे महोत्सवले समेत विभिन्न आलोचना खेप्नु परेको र त्यसको प्रभाव दोस्रो महोत्सवमा पनि परेको उनले बताए । यद्यपि खर्च विवरण भने उनले बताएनन् ।

पछिल्लो वर्षहरूमा नुवाकोटमा सांस्कृतिक गतिविधि, व्यापारिक प्रवद्र्धन र पर्यटन प्रवाह बढाउने उद्देश्यले महोत्सवहरूको आयोजना हुने गरेको छ। न्यून दर्शक उपस्थितिले तयारी बमोजिम फाइदा हुन सकेको छैन । आगामी ९औं नुवाकोट महोत्सव भने सफल र भव्य हुने अपेक्षा स्थानीयले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्