दुप्चेश्वर मन्दिरमा साताव्यापी धान्यपूर्णिमा मेलाको आज विशेष दिन, हजारौं भक्तजनको भीड
नुवाकोट, मंसिर १७। नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर परिसरमा आज धान्यपूर्णिमाको अवसरमा विशेष मेला लाग्दैछ। मंसिर १३ गतेबाट साताव्यापी रूपमा सुरु भएको यो मेलाको विशेष दिन आज बिहानैदेखि हजारौं भक्तजन पुगेका छन्।
काठमाण्डौ र सदरमुकाम विदुरबाट सहज यातायातका कारण भक्तजनको भीड बढिरहेकाले दुप्चेश्वर धाम यस वर्ष विशेष चहलपहलयुक्त देखिएको छ। दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको विशाल पहरामा अवस्थित यो मन्दिर धार्मिक र प्रकृतिको संगम स्थलका रूपमा पनि परिचित छ।
मेलाको व्यवस्थापनका लागि दुप्चेश्वर क्षेत्र विकास कोषले ११ वटा उपसमितिहरू गठन गरी आन्तरिक तथा बाह्य व्यवस्थापन मजबुत पारेको कोषका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए। उनका अनुसार भक्तजनका लागि वैकल्पिक मार्ग, पार्किङ, सुरक्षा र सरसफाइको विशेष व्यवस्था मिलाइएको छ।
दुप्चेश्वर धामका पुजारी भगवानहरि धितालका अनुसार मंगलबारदेखि नै भक्तजनको उल्लेख्य भीड बढेको हो । “दोस्रो पशुपतिनाथ” का रूपमा चिनिने दुप्चेश्वरमा धान्यपूर्णिमाको दिन विशेष पूजाआजा तथा दर्शनको लागि भक्तजनको उपस्थिति अत्यधिक हुने गरेको छ।
कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षयता दुप्चेश्वरमा भक्तजनको आगमन निरन्तर बढिरहेको छ। भेटी संकलन पनि दैनिक लाखौंको हाराहारीमा पुगेको बताइन्छ। भारत, भुटान, वर्मालगायत मुलुकबाट समेत तीर्थालु दुप्चेश्वर धाम आउने गरेका छन्।
मन्दिर परिसरमा जग्गा सम्याउने, आकर्षक संरचना निर्माण, सरसफाइ तथा भक्तजनलाई सहज बनाउने पूर्वतयारी यसअघि नै पूरा गरिएको कोषले जनाएको छ। दुप्चेश्वर धामको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वका कारण यहाँको आकर्षण पछिल्लो समय झनै बढेको स्थानीय रमेशप्रसाद आचार्य बताउँछन्।
अक्षम, ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य भएका भक्तजनको लागि विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। मेलालाई व्यवस्थित बनाउन दुप्चेश्वर गाउँपालिका र स्थानीय संघसंस्था सक्रिय रहेका छन्।
विदुरबाट डेढ घण्टा र काठमाडौँबाट करिब दुई घण्टामा दुप्चेश्वर महादेव मन्दिर पुग्न सकिने भएकाले दुप्चेश्वर अहिले महत्वपूर्ण धार्मिक गन्तव्यको रूपमा विकसित भइरहेको छ। आज र भोलि (मंसिर १७–१८) विशेष भक्तजनको भीड लागेको छ।

