आकासमै इन्धन भर्ने ६ इजरायली रिफ्युलिङ बिमान खरिद गर्दै भारत



काठमाडाैं,मंसिर १७ । भारतले आकासमै इन्धन भर्ने ६ वटा रिफ्युलिङ बिमान खरिद गर्ने भएको छ ।

भारतीय वायुसेनाले इजरायली सरकारी स्वामित्वको प्रतिष्ठित विमान निर्मातासँग ८ हजार करोड भारतिय रूपैयाँ (८० अर्ब नेपाली रूपैयाँ) बराबरको ६ रिफ्युलिङ बिमान खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भारतको आरएनए मिडियाले उल्लेख गरेको छ ।

धेरै वर्षको अध्ययन, मूल्यांकन र प्रतिस्पर्धापछि इजरायली सरकारी स्वामित्वमा रहेको एयरोस्पेस प्रमुख एकमात्र योग्य आपूर्तिकर्ता बनेको बताइएको छ । उक्त सम्झौतापछि इजरायली कम्पनीले प्रयोगमा आएका बोइङ ७६७ जहाजलाई परिमार्जन गरी अत्याधुनिक हवाई इन्धन भर्ने क्षमतायुक्त विमानमा रूपान्तरण गर्नेछ। रूपान्तरणपछि ती विमान भारतीय वायुसेनालाई हस्तान्तरण गरिने छ।

कम्पनीले देशभित्र उत्पादन प्रवर्द्धन गर्ने लक्ष्यअनुसार करिब ३० प्रतिशत भारतिय सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

हाल भारतीय वायुसेनाले रुसी मूलका इल्युसिन मिड-एयर रिफ्युलिङ विमानबाट हवाई इन्धन भर्ने काम गरिरहेका छन् ।जसले भारतीय वायु सेना र नौसेनाका सबै प्रकारका लडाकु विमान सञ्चालन दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

किन आवस्यक पर्‍यो यस्तो विमान ?

वायुसेनाले भर्खरै थपिएका आधुनिक लडाकु विमानहरूको दिगो सञ्चालनका लागि नयाँ रेफुलिङ्ग विमान अत्यावश्यक रहेको बताउँदै आएको छ।

कयौँ वर्षदेखि नयाँ विमान खरिद प्रयास भए पनि वित्तीय र प्राविधिक कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन।

वायुसेना अधिकारीका अनुसार पुराना विमान क्रमशः हट्दै गएका र लामो दूरीसम्म प्रहार गर्ने क्षमता वृद्धि भइरहेका बेला थप थप हवाई इन्धन भर्ने विमान अत्यन्तै आवश्यक छन्।

इजरायली कम्पनीसँग हुने भनिएको यस ठूलो सम्झौताले भारतीय वायुसेनाको हवाई शक्ति, तयारी अवस्था र कार्यक्षेत्र विस्तार गर्ने क्षमतामा महत्वपूर्ण वृद्धि गराउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्