थानापति मन्दिरमा धान्य पूर्णिमाको विशेष मेला : ऐतिहासिक किम्बदन्ती बोकेको मन्दिरमा भक्तजनको घुइँचो



नुवाकोट, मंसिर १७ — नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ऐतिहासिक थानापति मन्दिरमा धान्य पूर्णिमाको अवसरमा बुधबार रातिदेखि विशेष मेला लागेको छ। लिच्छवीकालीन इतिहास बोकेको यो मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि भक्तजनको ठूलो भीड लागेको हो। मेला बिहीबार बिहान महादीप प्रज्वलनसँगै समापन हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

थानापति मेलामा नुवाकोट मात्रै होइन, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, रसुवा, काभ्रे लगायतका जिल्लाबाट समेत भक्तजनहरू दीप प्रज्वलन र विशेष पूजाका लागि पुग्ने गरेका छन्। मनोकामना पूरा भएकाहरूले कृतज्ञताका रूपमा महादीप बालेको देखिन्छ। विगतका वर्षहरूमा करिब ५०० बढी महादीप प्रज्वलन भए पनि यस वर्ष भने केही कमी देखिएको समितिको भनाइ छ।

थानापतिको ऐतिहासिक किम्बदन्ती

इतिहासका पानामा गहिरो छाप छोडेको थानापति मन्दिरको स्थापना एक मार्मिक घटनासँग जोडिएको मानिन्छ। स्थानीय किम्बदन्तीअनुसार हजारौँ वर्षअघि हालको थानापति क्षेत्रमा थपलिया समुदाय बसोबास गर्थे। छहरे खोला र बोहरे खोलाको बिचको बस्तीमा रहेको बिर्ता जग्गा तत्कालीन राजाले हरण गरेपछि, न्याय नपाएर थानापति आमा आफ्नै कान्छा छोरासहित आत्मदाह गरेको कथन छ।

थानापति आमाका तीन छोरामध्ये दुई छोरालाई “पाटीभञ्ज्याङ र सामरीभञ्ज्याङ नपुगुञ्जेल फर्केर नहेर” भनेर पठाइए पनि, उनीहरू बाटोमै फर्किए र घरमा ठूलो आगोको मुस्लो देखेपछि हतार–हतार पुगेका थिए। त्यतिबेला आमा र कान्छो छोरा जलेर खरानी भएको दृश्यले गाउँ स्तब्ध बनेको र दरबारसम्म असर पारेको बताइन्छ।

दरबारमा समेत आगोको मुस्लो देखिएपछि राजाले कारण बुझ्न सेना पठाए। आत्मदाहको वास्तविकता पत्ता लागेपछि राजाले थानापतिले जलेको स्थान बिर्ताकै रूपमा कायम रहने आदेश जारी गरेका थिए। त्यसपछि सोही ठाउँमा थानापतिको नाममा मन्दिर निर्माण भएको मानिन्छ। मन्दिरभित्र अहिले पनि जलेका काठका गोलाहरू इतिहासका साक्षीका रूपमा छन्।

संरक्षण र पुनर्निर्माण

पुरातात्त्विक महत्व बोकेको थानापति मन्दिर हाल पुरातत्व विभागमार्फत करिब २ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भइसकेको छ। वास्तुकला, काठका मूर्ति तथा परम्परागत संरचनासहित मन्दिरले अब आधुनिक र सुरक्षित रूप लिएको छ।

थानापति आमाले अन्यायको विरोधमा गरेका आत्मदाहका कारण, थपलिया समुदायका धेरै परिवारले दशैँको टीका समेत थानापतिमा पूजा र प्रसाद नलगाई लगाउँदैनन्। सामुदायिक आस्था र धार्मिक विश्वासका कारण छहरे–बोहरे खोला क्षेत्रमा बस्ने सबै जात–जनजातिले थानापतिलाई संरक्षणका प्रतीकका रूपमा मान्ने चलन छ।

भक्तजनको भीड, दीप प्रज्वलन र आस्थाको वातावरण

धान्य पूर्णिमाको अवसरमा नेपाली समाजमा दीप प्रज्वलनको विशेष महत्व छ। थानापति मन्दिरमा यस दिन बत्ती बाल्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। धार्मिक र ऐतिहासिक महत्व बोकेको थानापतिमा पछिल्ला वर्षहरूमा भक्तजनको आगमन क्रमशः बढ्दो छ।

स्थान सहज पहुँचयोग्य भएकाले भक्तजनहरू मोटरसाइकल, निजी सवारी तथा स्थानीय सवारी साधनमार्फत मन्दिरसम्म पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्