प्रधानमन्त्री कार्की : “भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन”



काठमाडौं,मंसिर १७ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ। जेन–जी आन्दोलनले उठाएका मुद्दाहरूका आधारमा सरकार अघि बढिरहेको उल्लेख गर्दै उहाँले निर्वाचनको तयारीसँगै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई समानान्तर रूपमा अघि बढाइरहेको बताउनुभयो।

सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले युवाले बलिदानी दिएर उठाएको विद्रोहको मर्मअनुसार काम गर्न सरकार बाध्य भएको बताइन्। “हामी काम गर्न आएको सरकार हौँ, सकेको गरिरहेका छौँ,” प्रधानमन्त्रीले भन्नुभयो, “जेन–जी आन्दोलनले मागेजस्तै परिवर्तन अब व्यवहारमा उतार्नैपर्छ।”

भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारले नयाँ आयोग नबनाएको स्पष्ट गर्दै उहाँले पहिले नै रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लगायतका संरचनालाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाइदिएको बताउनुभयो। “विगतमा राजनीतिक हस्तक्षेपका कारण ती निकायले काम गर्न पाएनन्, अहिले सरकारबाट कुनै हस्तक्षेप हुँदैन,” उहाँको भनाइ छ।

उहाँका अनुसार अख्तियारले पछिल्लो समय केही ठूला भ्रष्टाचार काण्डमा रफ्तार बढाएको छ। सबै क्षेत्रमा चर्को दलीयकरणका कारण देशले प्रगति गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले किसान, व्यवसायी र विभिन्न समूहका नाममा गरिएको राजनीति नै भ्रष्टाचारको मूल जड भएको धारणा व्यक्त गर्नुभयो। “किसान मल पाउँदैन, तर किसानका नाममा राजनीति गर्ने नेताले विदेशघुमाइँ पाउँछ, यस्ता विकृतिले विकास रोकिएको हो,” प्रधानमन्त्रीले भन्नुभयो।

भेटका क्रममा नेता सुदन किराँतीसहित प्रतिनिधिमण्डलले जेन–जी युवाहरूका माग चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको थियो। उनीहरूले आन्दोलनरत युवामाथि प्रहरीले गरेको धरपकड तथा केही दलले खुलेआम गुण्डा परिचालन गरेको भन्दै आपत्ति जनाएका थिए। प्रतिनिधिमण्डलले यस्ता गतिविधि नरोके जेन–जी युवाहरू प्रतिकार गर्न बाध्य हुने चेतावनीसमेत दिएका थिए।

प्रधानमन्त्री कार्कीले आगामी चुनावमा युवालाई संसद्मा पठाएरै परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्