धन–समृद्धिको प्रतीक ‘धान्य पूर्णिमा’ आज देशभर मनाइँदै
काठमाडौं,मंसिर १८ । मार्गशीर्ष शुक्ल पूर्णिमा, अर्थात् मंसिर पूर्णिमा आज विभिन्न समुदायले आफ्नै परम्परा र संस्कृतिअनुसार श्रद्धापूर्वक मनाइरहेका छन्। यो दिन धान्य पूर्णिमा नामले विशेष पहिचान पाउँछ। धानलाई समृद्धि र लक्ष्मीको प्रतीक मानिने भएकाले आजका दिन धानको पर्वत बनाएर पूजा गर्ने परम्परा छ। यसरी पूजा गरे धनधान्य वृद्धि हुने विश्वास रहिआएको छ।
नयाँ बाली भित्रिएपछि त्यसलाई आफूले उपभोग गर्नु अघि कुलदेवता, पितृदेवता तथा अन्य देवी–देवतालाई अर्पण गर्ने चलन नेपालका धेरै जातजातिमा पाइन्छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा, अर्थात् ‘गोठधुप’, गर्ने परम्परा छ। गोठ सफा–सुग्घर बनाई गाई–वस्तुको पूजा–आराधना गरिन्छ।
थुप्रै समुदायमा यो दिन कुलदेवताका पूजा सम्पन्न हुन्छ। स्थानीय भाषामा यसलाई ‘देवाली’ पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाइन्छ, होम गरिन्छ र नयाँ चामलबाट बनेको खीर भोग लगाइन्छ। कतिपय ठाउँमा चामलको पीठोबाट बाबर, पुवा बनाएर चढाइने गर्छ। केही समुदायमा कुलदेवताका पूजामा पशुबलि दिने चलन पनि छ।
नेवार समुदायमा भने यस पूर्णिमालाई ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। अघिल्लो दिनदेखि घर–वरिपरि सफा गर्ने, शरीर शुद्ध गर्ने र घरमा योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी–देवतालाई चढाएपछि मात्र परिवारका सदस्यले खाने प्रचलन छ। नेवार समुदायमा धानको भकारीमा देवी–देवताको पूजा गर्ने पुरानो संस्कार अझै यथावत् छ।
पूर्वी पहाड तथा किरात समुदायमा पनि यस दिनको विशेषता छ। लिम्बू समुदायले बाली भित्र्याएपछिको न्वागी पर्वका रूपमा मंसिरे पूर्णिमा मनाउँछन्। किराती समुदायमा ‘उधौली’ मुख्य चाड मानिन्छ। लिम्बूमा चासोक तङनाम, राई समुदायमा साकेला, याख्खामा चासुवा तथा सुनुवार समुदायमा फोलष्याँदर पर्व आजकै दिन आरम्भ हुने वा सम्पन्न हुने गर्छ।
गुरुङ समुदायमा सिमेभूमेको पूजा गरी न्वागी खाने परम्परा छ। पूर्वका थारू समुदायले आज नेमान गर्ने, आँगनको ध्वजा फेर्ने र छोरा हुँदाका विशेष संस्कार ‘वर्तमन’ गर्ने चलन राख्छन्। धानको च्युरा र सख्खर मिसाएर लड्डु बनाई कुलदेवतामा चढाउने र नेमानसँग सम्बन्धित पूजा गर्ने प्रथा अझै प्रचलनमा छ।
देशका विभिन्न सांस्कृतिक र जातीय समुदायले आफ्नै मौलिक विधिमा मनाइने धान्य पूर्णिमा नेपालमा कृषि संस्कृति, प्रकृतिप्रतिको कृतज्ञता र समृद्धिको कामनासँग जोडिएको महत्वपूर्ण पर्व मानिन्छ।

