नेपाली कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरण तीव्र बनायो
काठमाडौं,मंसिर १८ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीसहित देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउने काम सुरु गरेको छ। पार्टीका क्षेत्रीय कार्यसमिति सभापतिमार्फत वडा, पालिका र नगरस्तरसम्म फाराम वितरण गरिँदैछ।
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले मंसिर १९ गतेभित्र सबै क्षेत्रमा फाराम पु¥याउने निर्णय गरेको हो। क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्रता दिनेगरी तयारी थालिएको कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिनुभयो।
समितिका संयोजक तथा कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस २६ देखि २८ गते काठमाडौंमा हुने महाधिवेशन नजिकिएसँगै पूर्वतयारीका कामलाई गति दिइएको बताउनुभयो। क्रियाशील सदस्यता वितरण प्रभावकारी बनाउन भ्रातृ तथा शुभेच्छुक संस्थासहितको बैठक शुक्रबार बोलाइएको समेत उहाँले जानकारी दिनुभयो।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माघ ११ गतेकाे राष्ट्रिय सभा सदस्य तथा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका सबै समितिलाई परिपत्र गरिएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा विधान अनुसार योग्यता पुगेका व्यक्तिमात्र सिफारिस गर्न निर्देशन गरिएको छ। जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा कुनै पनि सामाजिक विकृतिमा दोषी ठहर भएकाहरू कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने स्पष्ट गरिएको छ।
२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिले फेरि फागुन २१ गतेकाे समानुपातिकतर्फकै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन नपाउने उल्लेख छ। त्यस्तै, २०७९ को स्थानीय तहबाट कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि उम्मेदवार सिफारिसमा समावेश गर्न नपाइने परिपत्रमा भनिएको छ।
कांग्रेसले जारी गतिशील गतिविधिले महाधिवेशनको तयारीलाई थप सक्रिय बनाएको बताएको छ।

