देशभर यो वर्ष हिउँदमा वर्षा कम, तापक्रम बढ्दै



काठमाडौं,मंसिर १८ । यस वर्षको हिउँदयाम (मंसिर १५ देखि फागुन १६) देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। साथै अधिकतम र न्यूनतम दुवै तापक्रम सामान्य भन्दा बढी हुने विभागले बुधबार सार्वजनिक गरेको मौसमी पूर्वानुमानमा उल्लेख छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भाग, लुम्बिनीका पश्चिमी क्षेत्र, बाग्मतीका दक्षिणी भूभाग, मधेशका उत्तरी भाग तथा कोशी प्रदेशका मध्य–पूर्वी भागमा ५५–६५ प्रतिशत सम्भावनासहित कम वर्षा हुने देखिएको छ। अन्य धेरै क्षेत्रमा पनि ३५–५५ प्रतिशत सम्भावनामा वर्षा कम हुने आँकलन गरिएको छ।

अधिकतम तापक्रम बढी हुने

गण्डकीका उत्तरी–दक्षिणी भूभाग, बाग्मतीका दक्षिणी क्षेत्र तथा कोशीका उत्तरी तथा दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा ५५–६५ प्रतिशत सम्भावनामा बढी हुने विभागको अनुमान छ। कर्णाली, लुम्बिनी, कोशी, बाग्मती र गण्डकीका अन्य धेरै भूभागमा पनि तापक्रम सामान्यभन्दा उच्च रहने ४४–५५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णालीको दक्षिण–पश्चिम भाग तथा लुम्बिनीको पश्चिम क्षेत्रमा अधिकतम तापक्रम वृद्धि हुने सम्भावना ३५–४५ प्रतिशत छ। लुम्बिनीका दक्षिणी क्षेत्र र मधेसमा भने तापक्रम सरदरभन्दा कम, बराबर वा बढी—तीनै सम्भावना समान रहेको विभागले जनाएको छ।

न्यूनतम तापक्रम पनि उच्च

देशभर नै न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, मधेश तथा कोशीका धेरै भूभागमा न्यूनतम तापक्रम ५५–६५ प्रतिशत सम्भावनासहित उच्च देखिएको छ। बाँकी क्षेत्रमा पनि ३५–५५ प्रतिशत सम्भावनामा तापक्रम बढ्ने अनुमान गरिएको छ।

विभागका अनुसार वर्षा कम र तापक्रम बढ्ने यो अवस्थाले कृषि, जलस्रोत तथा दैनिक जीवनमा विभिन्न प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता र तयारी आवश्यक रहनेछ।

प्रतिक्रिया दिनुहोस्