नेवार समुदाय आज देशभर धुमधामसँग मनाउँदै ‘योमरी पुन्ही’
काठमाडौं,मंसिर १८ । उपत्यकासहित देशका विभिन्न क्षेत्रमा विखरिएको नेवार समुदायले बिहीबार प्राचीन संस्कृति र परम्पराको धनी ‘योमरी पुन्ही’ धुमधामसँग मनाउने भएको छ। कृषि चक्रसँग प्रत्यक्ष रूपमा जोडिएको धान्य पूर्णिमाले नेवार समुदायमा विशेष सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व राख्छ।
धान काट्ने कार्य औपचारिक रूपमा सम्पन्न भएको संकेतस्वरूप योमरी पुन्ही मनाइन्छ। नयाँ धानको चामलको पिठो प्रयोग गरी माछाको आकारमा बनाइने योमरी भित्र चाकु, तिल, दुधको खुवा आदि भरिन्छ र पानीको बाफबाट पकाइन्छ।
संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार योमरी भाइचारा, रोटी साटासाट र आपसी सद्भाव बढाउने पर्व हो। नेपाल भाषामा ‘यःमरी’ को अर्थ ‘मनपर्ने रोटी’ हुने बताइन्छ। यसलाई पञ्चतत्वको प्रतीकका रूपमा– धर्ती (चामलको पिठो), अग्नि (चाकु), जल (पानी), आकाश (रिक्तता) र वायु (तिल) समेटिएको परिकार मानिन्छ।
नेवार समुदायले आफ्नै खाद्यान्न र उपलब्ध स्रोतको उपयोग गर्दै परम्परागत रोटीलाई परिमार्जन गर्दै आधुनिक स्वरूपका रूपमा योमरीको विकास गरेको इतिहास संस्कृतिविद्ले बताउँछन्। पहिले सुक्खा रोटी मात्रै रहने चलन पछिल्लो समयमा योमरीका रूपमा समृद्ध भयो र सबैलाई मनपर्ने भएकाले ‘यःगु मरी’ हुँदै ‘यःमरी’ नाम बस्यो।
योमरी बनाउनु भनेको लक्ष्मी भित्र्याउने प्रतिक मानिन्छ। नयाँ चामलबाट पहिलो पटक पिठो निकालेर योमरी तयार पार्नु समृद्धिको शुभसंकेत मानिन्छ।
भक्तपुरका धनेश्वरसहित उपत्यकाका विभिन्न स्थानमा विशेष पूजा–अर्चना, भोग चढाउने र योमरी वितरण गर्ने परम्परा आज पनि उत्तिकै प्रचलित छ। परापूर्वकालदेखि चलेआएको कथनअनुसार यो दिन गरिबलाई योमरी दान दिँदा आगामी वर्ष दोब्बर फलिफाप हुने जनविश्वास छ।
नेवार समुदायको संस्कृति, चाडपर्व र सामुदायिक एकताको सुन्दर अभिव्यक्ति मानिने योमरी पुन्ही आज देशभर उत्साहपूर्वक मनाइँदैछ।

