हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सप्तरी,मंसिर १८। सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कंचनरूप नगरपालिका–५ का ५५ वर्षीय नारायण खंग रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सुकाइएको धान रुङ्गने क्रममा खेतमै सुतिरहनु भएका खंगलाई बिहान करिब २/३ बजे कोसी टापु वन्यजन्तु आरक्षणबाट आएको हात्तीले कुल्चेर आक्रमण गरेको थियो। घटनास्थलमै गम्भीर घाइते भएका खंगको उपचार प्रयासकै क्रममा त्यहीँ मृत्यु भएको समाजसेवी भोला पासवानले बताए।
घटनापछि खंगको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

