२० वर्षमै प्रधानाध्यापक बनिन् रक्षा यादव, ‘विद्यार्थी’ जस्तै देखिने युवतीको प्रेरणादायी नेतृत्व यात्रा



काठमाडाैं,मंसिर १८ । दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकास्थित श्री सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्यालयको नेतृत्वकर्ताका रूपमा आएको पहिचान गरे ।

२०८० चैतमा स्थायी शिक्षकमा नाम निकालेर विद्यालय पुगेकी रक्षाको काँधमा अहिले शैक्षिक गुणस्तर सुधारदेखि समग्र विद्यालय विकाससम्मको जिम्मेवारी छ । “जागिर खान मात्र आएकी होइन, यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने संकल्प लिएर आएकी हुँ,” रक्षाले भन्नुभयो । उहाँसहित स्थानीयसमेत विद्यालयमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिरहेका छन् ।

राजपुर–३ भैसहा निवासी रक्षा आर्थिक अभावका कारण लामो समयसम्म विद्यालयको ढोकाबाट टाढा रहन बाध्य थिइन् । यादव समुदायमै छोरीहरूको शिक्षालाई चुनौतीका रूपमा हेरिने परिस्थितिमा २० वर्षमै नेतृत्व पाउनुभएको उपलब्धि उहाँका लागि गर्व र चुनौती दुवै बनेको छ । कक्षा ६ देखि १२ सम्मको अध्ययनमा क्रिएटिभ पोसिबिलिटिज नेपाल (सिपी नेपाल) ले सहयोग गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “सिपी नेपालले साथ नदिएको भए म यहाँसम्म आइपुग्ने थिइनँ । शिक्षाले नै मेरो जीवनको दिशा परिवर्तन गरिदियो ।”

प्रधानाध्यापक बनेपछि रक्षाले विद्यालयमा प्राविधिक तथा व्यावहारिक सिकाइ, बालमैत्री वातावरण, अभिभावक–शिक्षक समन्वय र गुणस्तरीय शिक्षा प्रमुख प्राथमिकताका रूपमा अघि बढाएकी छन् । श्रम, ऊर्जा र स्पष्ट दृष्टिकोणसहित उहाँ विद्यालयमा नयाँ परिवर्तन ल्याउनेतर्फ केन्द्रित हुनुहुन्छ ।

सामान्य कृषक परिवारदेखि विद्यालय नेतृत्वसम्मको रक्षाको यात्रा निकै प्रेरणादायी रहेको सामाजिक अभियन्ता सविन प्रियासन बताउनुहुन्छ । “रक्षाले इच्छाशक्ति र संकल्प भए असम्भव केही हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । उहाँको सफलता सयौँ नेपाली युवाका लागि आशा र सम्भावनाको प्रतीक हो,” प्रियासनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्