अब लामाे दुरीका गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने



काठमाडौँ,मंसिर १८ । अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका सबै सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने भएको छ ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गन यस्ता सवार साधनहरुलाई अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरेको हो ।

लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था लागु गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको जनाएको छ ।

ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालेको छ ।

यसबाहेक प्रहरीले सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्