लगातार छैटौं जितसँगै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा



काठमाडौँ,मंसिर १८। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन जारी राख्दै लगातार छैटौं जित हात पारेको छ । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले क्वालिफायरमा स्थान पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । टोलीका लागि क्रिस लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित ७५ रन बनाउँदै इनिङ्सको मेरुदण्ड सम्हाले । रिटायर्ड हर्ट भएर बाहिरिएका लिन ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले अविजित २४–२४ रन जोडे भने विनोद भण्डारीले २३ रनका साथ योगदान दिए ।

चितवन राइनोजका बलर सैफ जइबले दुई विकेट लिए भने रन्जित कुमार र जर्ज स्क्रिमशाले एक–एक विकेट झारे ।

१७० रनको लक्ष्य पछ्याउँदै उत्रिएको चितवन १७ ओभर १ बलमै १२० रनमा समेटियो । टोलीका रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका बलरले उत्कृष्ट समन्वय देखाउँदै चितवनलाई सस्तोमा समेटे । पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, इशान पाण्डे र अविनास बोहोराले एक–एक विकेट हात पारे ।

छ खेलमै १२ अंक जोडेर अपराजित रहेको सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । दूसरी तर्फ चितवन राइनोजका लागि भने प्लेअफमा पुग्ने सम्भावना झनै क्षीण भएको छ ।

प्रतिक्रिया दिनुहोस्