अब नेपालमा १०० भन्दा ठूला भारतीय नोट चल्ने, आरबीआईले दियो अनुमति
काठमाडौँ,मंसिर १९ । नेपालमा पुनः एक सय भारतीय रुपैयाँभन्दा ठूलो दरका नोट प्रचलनमा आउने भएका छन् । भारतीय रिजर्भ बैंक (आरबीआई) ले नेपाल र भुटानमा पनि ठूला दरका भारतीय नोट चलनचल्तीमा ल्याउन औपचारिक अनुमति दिएको हो ।
सन् २०१6 नोभेम्बरमा भारतले नोटबन्दी गरेपछि नेपालमा १०० रुपैयाँभन्दा ठूला भारतीय नोट (₹200, ₹500, ₹2000) प्रयोगमा रोक लगाइएको थियो । अब भारतीय राजपत्रमै सूचना प्रकाशित गरेर नेपाल–भारत आवतजावत गर्ने नागरिकले ₹25,000 सम्म ठूला नोट साथमा ल्याउन–लैजान पाउने व्यवस्था लागू भएको छ।
यसले भारतमा रहेका नेपाली, नेपाल आउने भारतीय पर्यटक तथा अध्ययन/उपचारका लागि भारत जाने नेपालीलाई सहज हुने भएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलका अनुसार भारतले सूचना प्रकाशित गरिसकेकाले अब नेपाल राष्ट्र बैंकले पनि औपचारिक सूचना जारी गरेपछि यसको कार्यान्वयन सुरु हुनेछ । “भारतले ठूला नोट अनुमति दिएको छ, नेपालमा लागू गर्न राष्ट्र बैंकले सूचना जारी गर्छ,” उहाँले बताउनुभयो ।
यद्यपि सन् २०१६ को नोटबन्दीमा परेका पुराना ५०० र १००० का भारतीय नोट भने चलाउन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। नेपालका बैंक तथा वित्तीय संस्थामा रोक्का अवस्थामा रहेको करिब आठ करोड बराबरको ती नोट अहिले पनि अवैध नै रहनेछन्।
प्रवक्ता पौडेलका अनुसार विदेशी मुद्रा बोकेर राख्ने होइन, बैंकिङ प्रणालीमार्फत चलनचक्रमा ल्याउनुपर्छ भन्ने पाठ यसले पुनः सिकाएको छ।

