आज विश्व माटो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिँदै



काठमाडौं,मंसिर १९ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ आज देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका निकायहरूले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित दिवस मनाइरहेका छन्।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार माटोको उर्वराशक्ति, दिगो व्यवस्थापन र वैज्ञानिक प्रयोगबारे जनस्तरमा सचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइने गरिएको छ। खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसअनुसार संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाले २०१३ देखि यो दिवस मनाउने निर्णय गरेको थियो।

यस वर्षको मूल कार्यक्रम आज (शुक्रबार) काठमाडौंमा आयोजित छ। कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज लगायतका निकायको सहकार्यमा देशभर विभिन्न कार्यक्रम हुँदैछन्।

नेपालमा २०१४ डिसेम्बर ५ मा काभ्रेको पाँचखालबाट घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालनसँगै आधिकारिक रूपमा विश्व माटो दिवस मनाउन थालिएको थियो। दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति वृद्धि गरी भावी पुस्तालाई स्वस्थ माटो हस्तान्तरण गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको विभागले जनाएको छ।

डिजिटल माटो नक्साका तथ्याङ्कअनुसार अहिले नेपालमा परीक्षण गरिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय प्रकृतिको पाइन्छ। पूर्वी नेपालको माटो पश्चिमभन्दा बढी अम्लीय देखिएको छ। अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम रहेको छ—३७ प्रतिशतमा कम, ४५ प्रतिशतमा मध्यम र केवल १८ प्रतिशतमा मात्र उच्च रहेको विभागको तथ्याङ्कले देखाउँछ।

तराई क्षेत्रमा हिमाल–पहाडको तुलनामा प्राङ्गारिक पदार्थ न्यून पाइएको छ। हरेक वर्ष करिब १.८ मिलीमिटर सतहको माटो भूक्षयका कारण हराइरहेको र देशभर २८ प्रतिशत माटोमा नाइट्रोजन कम अवस्था भेटिएको कृषि विभागले जनाएको छ। फस्फोरस, पोटास र सूक्ष्म पोषकतत्त्व (जस्तै—जिङ्क, बोरोन, मोलिब्डेनम) का मात्रा धेरै ठाउँमा असन्तुलित अवस्थामा पाइएको छ। विशेषगरी पूर्वी नेपालमा बोरोन तथा तराई क्षेत्रमा सल्फर कम रहेको तथ्यांकले देखाउँछ।

विश्व माटो दिवसको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम हुँदैछ भने प्रदेश र स्थानीय तहहरूमा समेत विविध कार्यक्रममार्फत माटो संरक्षण र दिगो व्यवस्थापनका सन्देश प्रवाह गरिने आयोजन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्