नुवाकोट–१ मा स्वतन्त्र उम्मेदवारी घोषणा: संजिब गुरुङको ‘परिवर्तन अभियान’ सुरु
नुवाकोट,मंसिर १९ । नुवाकोटका युवा संजिब गुरुङले आगामी प्रतिनिधित्वका लागि नुवाकोट क्षेत्र नं–१ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन्। पूर्व नेपाली कांग्रेस तरुण दलका केन्द्रीय सदस्य समेत रहेका उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै दशकौँदेखि केही आफ्नै व्यक्तिको हातमा सीमित रहेको नुवाकोटको राजनीति अब परिवर्तनको मोडमा ल्याउनुपर्ने आवश्यकता उठाएका छन्।
गुरुङका अनुसार नुवाकोटमा वर्षौँदेखि भइरहेका राजनीतिक गतिविधिहरूले सर्वसाधारणका वास्तविक समस्यालाई कहिल्यै सम्बोधन गर्न सकेनन्। राज्यबाट आउने बजेटलाई आफ्नो निजी अधिकारझैँ प्रयोग गर्ने, सत्ताको पहुँच दुरुपयोग गरेर आफ्नै स्वार्थ पूर्ति गर्ने प्रवृत्ति आजसम्म नरोकिनु दुःखद भएको उनले टिप्पणी गरे।
उनले २३ र २४ गतेका घटनामा घर, गाडी र निजी सम्पत्तिमा भएको क्षतिको उदाहरण दिँदै, “नुवाकोटको राजनीति यति गहिरो रुपमा बिग्रिएको छ कि बिना व्यवसाय, बिना स्पष्ट आम्दानी, तर ठूल्ठूला सम्पत्ति भएका नेताहरूको वास्तविक चरित्र देखाउने प्रमाणहरू खुलेरै देखिन थालेका छन्” भने।
गुरुङले नयाँ पुस्ता विदेश जान मजबुर हुनु, युवाबीच विभाजन ल्याउने खेल, र नुवाकोटको समग्र विकास पछाडि पर्नुको कारण लामो समयसम्म सत्तामा बसेका “भ्रष्ट र अयोग्य व्यवस्थापक” भएको आरोप लगाए।
उनका अनुसार हाल विभिन्न चम्किला कार्यक्रम, सामाजिक सञ्जालमा देखाइएका तामझाम र केही पत्रकारहरूसँगको नजिकताबाट चुनावी माहोल बनाउन खोजिएको छ, जुन जनताका आँखामा धूलो हाल्नेजस्तै हो।
“युवाको भविष्य, पहिचान र समग्र नुवाकोट निर्माणका लागि अबको विकल्प स्वतन्त्र र इमानदार नेतृत्व हो,” गुरुङले भने। यही कारण उनले नुवाकोट क्षेत्र नं–१ बाट स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएका छन्। उनले शिक्षित, सचेत र परिवर्तन चाहने पुस्ताले नै वास्तविक परिवर्तन संभव बनाउने विश्वास व्यक्त गरेका छन्।
गुरुङले अन्त्यमा भनेका छन् , “आशा छ—आजको विकसित समाजका जिम्मेवार युवाले मन, वचन र कर्मले साथ दिनेछन्।”

