मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त
जनकपुरधाम,मंसिर १९ । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई औपचारिक रूपमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि सात दलीय गठबन्धनले ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो। दाबी पेश गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।
दाबीमा समावेश सातौँ दल नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिला सिंह बाटोमै भएकाले उनको हस्ताक्षर दाबी पत्रमा नदेखिए पनि गठबन्धनका नेताहरूले उहाँको समर्थन रहेको स्पष्ट गरेका छन्।
नियुक्तिपछि अब मुख्यमन्त्री यादवले संविधान अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रक्रिया अघि बढ्नेछ।

