बेलकोटगढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँच दिने तालिम सुरु
नुवाकोट,मंसिर १९ । आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड पाँच दिने तालिम कार्यक्रम बेलकोटगढी नगरपालिकामा सुरु भएको छ। तालिमको उद्घाटन सत्र नगर प्रमुख जगतबहादुर गुरुङले नगरपालिकाको सभाहलमा सम्पन्न गर्नुभयो।
तालिममा बेलकोटगढी नगरपालिका अन्तर्गतका सबै विद्यालयका प्रतिनिधि शिक्षकहरूको सक्रिय उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ। बेलकोटगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको तालिम रुम टु रिड (Room to Read) को सञ्चालन र रुडेक नेपाल (RUDEC Nepal) को सहजीकरणमा भइरहेको हो।
कार्यक्रममा कुल ४८ जना शिक्षकहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण सन्तोष खनालले गर्नुभएको हो। स्थानीय तहका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै शिक्षण–शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउन तालिमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

