गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए
गोरखा,मंसिर २० । गोरखामा आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा २८ जना बालबालिका कुपोषणका अवस्थामा भेटिएका छन्। जिल्ला भित्रका ११ स्थानीय तहमा नियमित रुपमा गरिएको स्वास्थ्य जाँचपछि ६ जना अत्यधिक कुपोषित र २२ जना मध्यम कुपोषित अवस्थामा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका पोषण शाखा फोकल पर्सन नवराज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार गोरखा जिल्लामा कुपोषणको दर वर्षैभरि घट्दै गइरहेको भए पनि पूर्णरुपमा नियन्त्रणमा भने आउन सकेको छैन।
अघिल्ला वर्षका तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा ७३ जना बालबालिका कुपोषित अवस्थामा भेटिएका थिए। तीमध्ये २६ जनामा गम्भीर तथा ४७ जनामा मध्यम कुपोषण देखिएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा भने यो सङ्ख्या घटेर ४१ पुगेको थियो, जसमा ३ जना अत्यधिक कुपोषित र ३८ जना मध्यम कुपोषित थिए। यस वर्षको पहिलो चार महिनामा २८ मा झरेको तथ्याङ्क कुपोषण घट्दै गएको संकेत भए पनि अझै चुनौतीपूर्ण रहेको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ।
उहाँका अनुसार अभिभावकस्तरमै सन्तुलित आहारबारे सचेतना, घरमै तयार गर्न सकिने पोषणयुक्त खाना, नियमित तौल मापन तथा आवश्यक खोपबारे निरन्तर सूचना प्रवाहले कुपोषणको दर घट्नमा सहयोग पुगेको छ। गर्भवती, सुत्केरी र उनीहरूको स्याहारमा संलग्न व्यक्तिमाथि गरिएको स्वास्थ्य शिक्षाले पनि सकारात्मक प्रभाव देखिएको उहाँको भनाइ छ।
तर पनि कुपोषण पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्नुपर्ने जनस्वास्थ्य कार्यालयको निष्कर्ष छ। जङ्कफुडको बढ्दो सेवनले जोखिम बढाइरहेको उल्लेख गर्दै अधिकृत खड्काले परिवार स्वयंले सन्तुलित आहार, सरसफाइ, स्वच्छ पानी र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। समयमै उपचार तथा उचित पोषण उपलब्ध गराए अधिकांश कुपोषित बालबालिकालाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिने जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

