नुवाकोटको पञ्चकन्यामा रहेको घ्याङस्वारा पार्कमा चियाबगान लहलह



नुवाकोट, मंसिर २० । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रले गत पाँच वर्षदेखि निरन्तर रोप्दै आएको चियाको बिरुवा अहिले लहलह हरियो बगानका रूपमा फस्टाउँदै गएको छ। गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र घ्याङस्वारा पर्यटकीय पार्कमा रोपिएको चियाबगान अहिले आकर्षक रूप लिन थालेको हो।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङका अनुसार आफ्नो नेतृत्वपछि मात्रै ४३ हजारभन्दा बढी चियाका बिरुवा रोपिसकिएको छ। पाँच वर्षको अथक प्रयास र उचित हेरचाहका कारण अब चियाका बिरुवा सप्रिएर बगानको रूप लिन पुगेको रोजगार संयोजक सरोज केसी सरोवरले बताए।

रोजगार सेवा केन्द्रले सञ्चालन गरेको कार्यक्रममा सूचीकृत बेरोजगार युवाहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसले युवालाई स्थानीय स्तरमै रोजगारको अवसर प्रदान गर्नुका साथै कृषि क्षेत्रसँग जोडिएको पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याएको छ।

चिया रोपाइँका क्रममा केही स्थानमा सिंचाइको चुनौती रहेको बताइए पनि तालमेल र व्यवस्थापनका माध्यमबाट समस्याहरू समाधान गर्दै बगानलाई विस्तार गरिँदै आएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्