धुनिबेसी–६ मा सात सवारी एकैसाथ दुर्घटना, ३५ जना घाइते



धादिङ,मंसिर २० । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३५ पुगेको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि अवरुद्ध भएको काठमाडौँ–मलेखु सडक एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल संलग्न थिए। प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भई अनियन्त्रित बनेपछि अन्य सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुईवटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र गम्भीर घाइतेलाई काठमाडौँतर्फ रेफर गरिएको छ।

प्रहरी र स्थानीयवासीले दुर्घटनास्थलमा तत्काल उद्धार कार्य अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्