नुवाकोटमा भालुको आक्रमण, एक युवक गम्भीर घाइते



नुवाकोट,मंसिर २१ । नुवाकोटको उत्तरी भाग सूर्यगढी गाउँपालिका–१ वरादीमा भालुको आक्रमणबाट एक स्थानीय युवक गम्भीर रूपमा घाइते भएका छन्। ४२ वर्षीय लावाङ तामाङ घर नजिकै काम गरिरहेको समयमा अचानक भालुको आक्रमणमा परेपछि गम्भीर घाइते भएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए।

उनका अनुसार भालुको आक्रमण पश्चात् लावाङ तामाङको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। स्थानीयवासीले तत्काल उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याई उपचार गराइरहेका छन्। उनको स्वास्थ्य अवस्था क्रमशः सुधारउन्मुख रहेको जनाइएको छ।

नजिकैको जंगलबाट भालु गाउँतिर आएको अनुमान गरिएको छ। घटनापछि वरादी क्षेत्रका स्थानीयवासीमा त्रास फैलिएको छ भने वन्यजन्तुका गतिविधि बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्