आज एनपीएलको दोस्रो संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेल
काठमाडौं,मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ। भिडन्तमा यसअघि नै प्रतियोगिताबाट बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ।
समूह चरण पार गर्न असफल रहे पनि दुबै टोली आजको खेलमा जित दर्ता गर्दै प्रतियोगितामा सकारात्मक अन्त्य गर्ने लक्ष्यमा छन्। यद्यपि प्लेअफ समीकरण भने पूरा भइसकेको छ। सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतियोगिताको ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन्।
मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो अवसरका रूपमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच हुने ‘एलिमिनेटर’ विजेतासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको तीव्र प्रतिस्पर्धासँगै आजको खेल समूह चरणको औपचारिक अन्त्यका रूपमा महत्वपूर्ण मानिएको छ।

