रौतहटको चपुर–गौर सडक खण्डमा दुर्घटनापछि स्थानीय आन्दोलित, चक्का जामसँगै तनावपूर्ण स्थिति
रौतहट,मंसिर २१ । रौतहटमा एकै परिवारलाई परेको सवारी दुर्घटनापछि स्थानीयवासी आन्दोलित बनेका छन्। मङ्सिर १९ गते साँझ चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु र तीन बालबालिका गम्भीर घाइते भएपछि क्षेत्र तनावग्रस्त बनेको हो।
ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको छ। उनका छोरा युवराज पटेल, आकृति पटेल र प्रिन्स कुमार पटेल घाइते छन्। घाइतेहरूलाई तत्काल चन्द्रपुर प्रा.ली. अस्पताल पुर्याइएको थियो।
दुर्घटनापछि मृतकका आफन्त र स्थानीय आन्दोलित हुँदै चपुर–गौर सडक खण्डको हरसाहा क्षेत्रमा दिनभर चक्का जाम गरे। रातो राति पनि जुलुस, ढुङ्गा प्रहार र प्रहरी लाठीचार्जपछि स्थिति थप तनावग्रस्त बनेको थियो। आन्दोलनका कारण मुख्य सडक अवरुद्ध भई नाइट बस, ट्रक तथा मालवाहक सवारी रोकिँदा धेरै यात्रु अलपत्र परेका थिए।
दुवै सवारीसाधन तथा बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी छ।
आन्दोलनकारीले अघि सारेका प्रमुख मागहरूमा बस चालकलाई कडा कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, तीन बालबालिकाको सम्पूर्ण उपचार खर्च सरकार वा बस सञ्चालकले व्यहोर्नुपर्ने, र चपुर–गौर सडक खण्डमा ट्राफिक व्यवस्थापन तथा गति नियन्त्रण कडाइ गर्नुपर्ने छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

