काठमाडौँमा भूमिगत तार परियोजना तीव्र : वर्षायाम अघि काम सक्न निर्देशन
काठमाडौं, मंसिर २१ — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका झुण्डिएको विद्युतीय तार भूमिगत गर्न नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा काम अगाडि बढाउने भएका छन्। काममा देखिएका समस्या समाधान तथा फील्ड अनुगमनका लागि प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई जिम्मेवारी तोकिएको छ।
सडक विभाग र स्थानीय तहबाट समयमै सहमति नआउनु, निर्माण व्यवसायीले काम सकिएपछि सडक मर्मत नगर्नुजस्ता गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार सम्बन्धित निकायका प्रमुख, महानगर प्रतिनिधि र निर्माण व्यवसायीसँग समन्वय बैठक गरेका हुन्।
बैठकमा मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुअघि नै काठमाडौंको भूमिगत तार निर्माण पूरा गर्न निर्देशन दिए। उहाँले इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जहाँ–जहाँ भूमिगत लाइन तयार भइसकेको छ, त्यहाँको पुरानो ओभरहेड तार तत्काल हटाउन आग्रह गरे। पुतलीसडकलगायत केही ठाउँमा बाँकी रहेको काम छिटो अघि बढाउन पनि मन्त्री घिसिङले जोड दिए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग र महानगरसँग समन्वय गर्दै निर्माण कार्यलाई तीव्रता दिने बताए। उनका अनुसार भूमिगत लाइन तयार भएको स्थानमा विद्युत आपूर्ति सुरु भइसकेको र पुराना तार क्रमशः हटाइँदै जानेछ।
काठमाडौं उपत्यकाको वितरण प्रणाली भूमिगत र स्वचालित बनाउन प्राधिकरणले धेरै चरणमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका क्षेत्रमा काम सुरु भइसकेको छ। पछिल्ला चरणमा काठमाडौंको बाँकी क्षेत्र, ललितपुर, भक्तपुर, पोखरा र भरतपुर महानगरसम्म विस्तार गर्ने योजना छ। काठमाडौं उपत्यकाभित्रको समग्र निर्माण प्रगति अहिले करिब ८० प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ।
तार भूमिगतसँगै ३३ केभी, ११ केभी र ४०० भोल्टेज लाइनका साथै अप्टिकल फाइबर समेत बिछ्याइनेछ। यसले सहरभरि छरपस्ट झुण्डिएको तारका कारण बिग्रिएको शहरी सौन्दर्य सुधार हुने, सेवा अधिक सुरक्षित र भरपर्दो बन्ने प्राधिकरणको दाबी छ। राति काम गर्ने प्रबन्ध, सडक कम बिग्रिने प्रविधिको उपयोग र धूलो नियन्त्रणका उपाय अपनाइएको छ। भूमिगत कार्यका क्रममा बिग्रिएको सडक १० दिनभित्र मर्मत सक्ने व्यवस्था पनि गरिएको प्राधिकरणले जनाएको छ।

