दुप्चेश्वर धाममा धान्यपूर्णिमा मेला : १२ लाख ८८ हजार १ सय ८० रुपैयाँ भेटी संकलन



नुवाकोट, मंसिर २२ । दुप्चेश्वर क्षेत्र विकास कोषले धान्यपूर्णिमा मेलाका क्रममा मन्दिरमा चढेको भेटी रकमको गणना सम्पन्न गरेको छ। मंसिर १३ गतेदेखि २० गतेसम्म चलेको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गर्दा कुल १२ लाख ८८ हजार १ सय ८० रुपैयाँ संकलन भएको कोषले जनाएको छ।

धान्यपूर्णिमा पर्वमा दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष पनि भक्तजनहरूको ठूलो भीड लागेको थियो। मनोकामना पूरा होस् भन्ने विश्वाससहित भक्तहरूले भेटी, दान र पूजा–अर्चना गरेका थिए।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार विगतको तुलनामा यस वर्ष भेटी संकलनमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको सोही मेलामा कुल आठ लाख ६४ हजार दुई सय १२ रुपैया मात्र भेटी संकलन भएको थियो । संकलित रकम मन्दिर क्षेत्रको संरक्षण, पूर्वाधार सुधार, व्यवस्थापन तथा आगामी धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू सञ्चालनमा खर्च गरिने जनाएको छ।

धार्मिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण मानिने दुप्चेश्वर धाममा प्रत्येक वर्ष धान्यपूर्णिमा मेलाको अवसरमा स्थानीयवासीसहित टाढा–टाढाबाट पनि दर्शनार्थी आउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्