एकै परिवारका तीन सदस्य शाखा अधिकृतमा सिफारिस
सोलुखुम्बु, मंसिर २२ । सोलुखुम्बुका दुर्गम महाकुलुङ गाउँपालिका–३ निवासी एकै परिवारका तीन सदस्य लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस भएपछि गाउँदेखि जिल्लाभर खुशीयाली छाएको छ। दुर्गाबहादुर कुलुङ र मनिकुमारी कुलुङका जेठा छोरा एकराज कुलुङ, जेठी बुहारी मनीषा कुलुङ र कान्छा छोरा बालकुमार कुलुङ एकैपटक शाखा अधिकृतमा सिफारिस भएका हुन्।
कुनै ट्युसन सेन्टरको सहयोग बिना घरमै बसेर निरन्तर मेहनत र अध्ययन गर्दै परीक्षाको तयारी गरेका तिनै जनाको सफलताले गाउँमा ऐतिहासिक मानिएको छ। “धेरैले घरमै तयारी गरेर अधिकारी पास हुँदैन भने, तर हामीले कसैको कुरा मानेनौँ, आफ्नो अठोट छोडेनौँ,” जेठा छोरा एकराज कुलुङले भने।
दुर्गाबहादुर कुलुङ आफैँ पनि गाउँका पूर्व वडाध्यक्ष हुन्। सन्तानहरूको यो उपलब्धिले आफू अत्यन्त गदगद भएको बताउँदै उनले भने, “गाउँ र जिल्लाको गौरव बढाएको छ, मेहनतको फल यस्तै मिठो हुन्छ। अझै माथिल्लो तहमा पुगेको हेर्ने चाहना छ।”
एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा नायब सुब्बा (नासु) का रूपमा कार्यरत छन् भने मनीषा राष्ट्रिय किताबखानामा कार्यरत छिन्। यस पटक तिनै जना राजपत्रांकित तृतीय श्रेणीमा एकैपटक सिफारिस हुँदा परिवार मात्रै होइन, स्थानीय समुदायमा पनि उत्साह छाएको हो।
कान्छा छोरा बालकुमारले “विदेश भन्दा सरकारी सेवामा स्थायित्व र मातृभूमिको सेवा गर्ने सन्तुष्टि हुन्छ,” भन्दै आफ्नो निर्णयप्रति गर्व व्यक्त गरे। जेठी बुहारी मनीषाले परिवारकै एकताबद्ध मेहनतले सपना पूरा भएको बताइन्।
महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले यो उपलब्धि गाउँ–समाजकै गौरवको विषय भएको बताउँदै भने, “युवा विदेशिन बाध्य भइरहेका बेला एकै परिवारका तीन सदस्य सरकारी सेवामा अधिकृत हुनु उदाहरणीय उपलब्धि हो।”
एक समय शैक्षिक तथा प्रशासनिक पहुँच कम रहेको छेस्काम क्षेत्र हाल सरकारी सेवामा युवा आकर्षित हुन थालेको उदाहरण यस घटनाले पुनः पुष्टि गरेको स्थानीयको धारणा छ।

