विदुर नगरका ८,३३१ विद्यार्थी दुर्घटना बीमामा : ७ जनाले पाए भुक्तानी, नगरप्रमुखबाट रकम हस्तान्तरण
विदुर, मंसिर २२। विदुर नगरपालिकाले सञ्चालन गरेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्तर्गत बीमा दाबी प्राप्त गरेका विद्यार्थीलाई औपचारिक रूपमा बीमा भुक्तानी रकम हस्तान्तरण गरिएको छ।
नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित विद्यालयका व्यवस्थापन समिति तथा शिक्षकमार्फत बीमा कम्पनीबाट प्राप्त दाबी भुक्तानी रकम सोमबार वितरित गरेका हुन्। यस कार्यक्रम अन्तर्गत नगरका ५४ विद्यालयका कुल ८,३३१ विद्यार्थीलाई दुर्घटना बीमामा समेटिएको नगरपालिका स्रोतले जनाएको छ।
हालसम्म ७ जना बिमित विद्यार्थीले बीमा दाबी भुक्तानी प्राप्त गरिसकेका छन्। दुर्घटनात्मक जोखिममा पर्ने विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएकाले अभिभावक तथा विद्यालयले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आएका छन्।
विदुर नगरपालिकाले बीमा कार्यक्रम निरन्तर प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

