वर्तमान समस्याको सर्वोत्तम समाधान नयाँ जनादेश: एमाले नेता पोखरेल



काठमाडौं,मंसिर २२ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी अध्यक्षका उम्मेदवारका आकांक्षी तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समसामयिक राजनीतिक अवस्थाप्रति आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

महाधिवेशनलाई लक्षित गरी तयार पारिएको अवधारणा-पत्रमा पार्टीको आन्तरिक विषयदेखि भविष्यका रणनीति र योजनासम्मका कुरा समेटिएका छन्।

पार्टीले औपचारिक रूपमा संसद् पुनःस्थापनालाई जोड दिइरहेका बेला अध्यक्षका आकांक्षी पोखरेलले भने आफ्नो अवधारणापत्रमा वर्तमान समस्याको सर्वोत्तम समाधान फागुन २१ को निर्वाचन नै भएको निष्कर्ष निकाल्नु भएको छ।

“भदौ २४ पछिको राजनीतिक स्थिति र हाम्रो दृष्टिकोण- सरकारविहीनताको विशेष परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र दबाबको कारण संसद् विघटन गरियो। फागुन २१ मा निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने कार्यादेश वर्तमान सरकारलाई तोकिएको छ। यो संवैधानिक दृष्टिले वैधता प्राप्त जनअनुमोदित सरकार होइन। वैकल्पिक सरकार दिने अवस्था नहुँदा संविधानलाई न्यून क्षतिमा जोगाउन अपनाइएको आपतकालीन विकल्प हो। त्यसैले तोकिएको समयमा चुनाव गराई यो सरकारलाई बिदा गर्ने र नयाँ जनादेशबाट संविधानिक प्रक्रियालाई लिकमा ल्याउनु नै अहिलेको उत्तम उपाय हो।” अवधारणा पत्रमा उहाँले उल्लेख गर्नुभएको छ ।

नेता पोखरेलका अनुसार पार्टी र देश अहिले इतिहासको गम्भीर मोडमा उभिएको बताउनु भएको छ ।  “हामी इतिहासको असाधारण समय र नयाँ मोडमा छौँ। हाम्रा साना कमजोरीले पनि पार्टी, आन्दोलन र देशलाई ठूलो क्षति पुर्‍याउन सक्छ।”उहाँले भन्नुभएको छ

परिवर्तन र रूपान्तरणका नयाँ मानकलाई केन्द्रमा राखेर समयको माग र आफ्नै अन्तर्मनको आवाज सुनी वस्तुनिष्ठ समीक्षा तथा छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

वरिष्ठ-उपाध्यक्ष–ईश्वर-पोखरेलको-अवधारणा-पत्र

महाधिवेशनको सम्पूर्ण तयारी पुरा

यसैबीच नेकपा एमालेको ११ औँ महाधिवेशनको तयारी पुरा भएको एमालेले जनाएको छ । महाधिवेशन प्रतिनिधि छनौट, महाधिवेशनमा पेश हुने राजनीतिक र सांगठनिक दस्तावेज, दोश्रो विधान महाधिवेशनबाट पारित पार्टी विधान लगायतको छपाइ लागयतको सम्पूर्ण तयारी सकिएको छ ।

मंसीर २७ गते देखी २९ गतेसम्म काठमाण्डौमा हुने नेकपा एमालेको ११ महाधिवेशनको तयारी करिव पुरा भएको नेकपा एमालेले जनाएको हो । एमाले महाधिवेशनमा २६ सय १३ जना प्रतिनिधि सहाभगि हुनेछन् ।

महधिवेशनमा सहभागि हुने प्रतिनिधि चयनको काम सकिएको र महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको छपाइ सकेर प्रतिनिधिहरुलाई वितरण गर्न प्याकिङको काम भैरहको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले वताउनु भयो । प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले महाधिवेशन उद्घाटन ऐतिहाँसीक उपस्थितिमा गर्ने तयारी गरिएको र त्यसका लागि उपत्यकाको सबै भन्दा फराकिलो ठाँउ भक्तपुरको सल्लाघारी चयन गरिएको पनि वताउनुभयो ।

यही मङ्सिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । यसैगरी २८ र २९ गते भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको छ । एमालेले महाधिवेशनमा सकेसम्म सर्वसम्वत नेतृत्व चयन गर्ने गरी बिभिन्न छलफल र परामर्श गरिरहेको छ । यदी सर्वसम्वत नेतृत्व चयन गर्ने अवस्था नवनेमा निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयन गर्ने गरि तयारी भैरहेको गौतमले जानकारी दिनुभयो ।

महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । निर्वाचित भएर आउने प्रतिनिधिको संख्या २,०२६ जना हुनेछन । एमालेको विधानअनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जसअनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्