ठूला भ्रष्टाचार प्रकरणसम्बन्धी २५ भन्दा बढी फाइल खोल्ने प्रकृया अगाडि बढाइएको छ: सञ्चारमन्त्री खरेल
काठमाडौं,मंसिर २२ । राजनीतिक अस्थिरताका कारण नेतृत्वमा हुने निरन्तर फेरबदलले ठूला आर्थिक चलखेलमा धेरै नेता र कर्मचारी मुछिने गरेका छन ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा ५ जना पूर्व मन्त्री र १० जना पूर्व सचिव विरुद्ध एकैपटक मुद्धा दायर हुनु यसैको एउटा उदाहरण हो ।
फरक-फरक मन्त्री तथा सचिवहरूको कार्यकालमा चिनियाँ कम्पनीसँगको ऋण सम्झौता, निर्माण लागतको वृद्धि र कमसल सामग्री प्रयोग तथा ठेकेदारलाई हतारमा भुक्तानी दिने निर्णयहरू भएको भन्दै अख्तियारले मुद्दा दायर गरेपछि एउटा ठूलो अनियमितताको प्रकरण बाहिरिएको हो ।
करिव २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो विमान स्थल निर्माणका क्रममा भएको अनियमितता विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री डा.रामशरण महतसहित ५ जना पूर्व मन्त्री, १० जना पूर्वसचिव,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतका अन्य व्यक्ति र कम्पनी गरी ५६ जनाविरुद्ध भ्रष्टाचारमा मुछिएका हुन् ।
यतिका धेरै र उच्च व्यक्तित्वहरु भ्रष्टाचारमा मुछिएको यो पहिलो पटक हो ।
एउटै मन्त्रालयमा छोटो समयको अन्तरालमा मन्त्री तथा सचिवहरूको परिवर्तन भइरहने शृङ्खलाका कारण यस्ता भ्रष्टाचारका घटनाहरु दोहोरिरहेको विज्ञ बताउँछन् । साथै,नेपालको निर्वाचन प्रणाली नै भ्रष्ट हुँदा राजनीतिक दलहरुले जित आफ्नो पोल्टामा पार्न बढी खर्च गर्ने भएकाले यस्ता ठुला-ठुला भ्रष्टाचारका घटनाहरु हुने गरेको कतिपय विज्ञहरुको बुझाइ छ ।
पोखरा विमानस्थलको भ्रष्टाचार आरोपमा मुछिएका ५६ जना विरुद्ध अख्यियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजारको बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ ।
यस मुद्धामा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ पनि जोडिएको छ ।
चिनियाँ कम्पनीसँग गरिएको ऋण सम्झौता, अनावश्यक मात्रामा निर्माण लागतको वृद्धि र कमसल सामग्री प्रयोग तथा ठेकेदारलाई हतारमा भुक्तानी दिने निर्णयहरू फरक-फरक मन्त्री तथा सचिवहरूको कार्यकालमा भएका छन् ।
जसले गर्दा यस मुद्धामा उच्च पदस्थ धेरै जना मुछिएका हुन् । पोखरा विमानस्थलमा अनियमितता भएको भन्दै तत्कालिन लेखा समितिले पनि ६३ करोड रकम अपचलन भएको प्रतिवेदन अख्तियारलाई बुझाएको थियो ।
सञ्चारमन्त्रीको खुलासा: २५ भन्दा धेरै ठूला भ्रष्टाचारसम्बन्धी फाइल खोल्दैछौँ
यसैबीच, सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ठूला सम्भावित भ्रष्टाचार प्रकरणसम्बन्धी २५ भन्दा बढी फाइल खोल्ने प्रकृया अगाडि बढाइएको जानकारी दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता नै सरकारको मानक भएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री खरेलले फागुन २१ गतेको निर्वाचनमा केन्द्रित सरकार सुशासन प्रबर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

