जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ को शक्तिशाली भूकम्प, ३ मिटर उचाइसम्म सुनामीको चेतावनी
टोकियो, मंसिर २२। जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय राति ११:१५ बजे आएको ७.६ म्याग्निच्युडको भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा थियो। भूकम्पका धक्का जापानको उत्तर र पूर्वका धेरै भूभागमा तीव्र रूपमा महसुस गरिएको बताइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ। त्यसैगरी मियागी र फुकुशिमा प्रिफेक्चरका तटीय क्षेत्रमा ‘सुनामी एडभाइजरी’ जारी गरिएको छ।
जापानी सार्वजनिक प्रसारक एनएचकेले प्रभावित क्षेत्रका नागरिकलाई तटीय भागबाट टाढा रहन, सुरक्षित स्थानतर्फ सर्ने तथा सतर्कता अपनाउन आग्रह गरेको छ।
हालसम्म क्षति–नोक्सानी तथा प्रभावित अवस्थाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केही घण्टाभित्र थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।
भूकम्प र सुनामीको उच्च जोखिम रहेको जापानमा यस्ता घटनाका लागि राहत तथा उद्धार संयन्त्र सधैं सतर्क अवस्थामा रहने गर्दछ।

