युएनआई महिला समितिको काठमाडौँमा र्‍याली



काठमाडौं,मंसिर २३ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले सोमबार काठमाडौँमा र्‍याली तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

अन्तर्क्रिया कार्यक्रममा नेपाली काँग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले प्रविधिका कारणले बढ्दै गएको लैंगिक हिंसालाई घटाउन प्रविधिको प्रयोग बुझेर र आवश्यकता अनुसार मात्र गर्न सुझाव दिनुभयो। उहाँले नेपालमा नबुझेरै कतिपय मानिसले इन्टरनेटको गलत प्रयोग गर्दा हिंसाको शिकार भएको उल्लेख गर्नुभयो ।

युएनआई एशिया-प्रशान्त क्षेत्रका महासचिव राजेन्द्र आचार्यले संसारभर प्रविधिका कारणले भएका हिंसाका घटनालाई कम गराउन ठूलो चुनौति रहेको उल्लेख गर्नुभयो ।

युएनआई महिला समितिकी अध्यक्ष भगवती खड्काले नेपाली महिलाहरु खासगरी श्रमिक महिलाहरुको हक अधिकारको विषयमा कुरा उठाउँदा प्रविधिले निम्त्याएको समस्यालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्