प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली अद्यावधिक सुरु, मंसिर २६ भित्र त्रुटि सच्याउन आयोगको आग्रह
काठमाडौं,मंसिर २३ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक (दावी–विरोध) कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत विवरण सच्याउन, सूचना दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने सबै व्यक्ति योग्य मतदाता मानिने आयोगले स्पष्ट गरेको छ।
आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नेछ। प्रकाशनपछि नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि भए मंसिर २६ भित्र सच्याउन निवेदन दिन सकिनेछ। कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ। एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा दर्ता भएको पाइएमा एक स्थान बाहेक अन्य स्थानबाट हटाइने आयोगले जनाएको छ।
त्यसैगरी मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन जानकारी दिन आयोगले सबैलाई आग्रह गरेको छ। दावी–विरोधका सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
मतदान स्थल चयनमा सहजता ल्याउन आयोगले अनलाइन सुविधा थप गरेको छ। अब मतदाताले आफ्नो वडाभित्रका उपलब्ध मतदान स्थलमध्ये सुविधाजनक स्थान छान्न अनलाइनमार्फत निवेदन दिन सक्ने व्यवस्था छ।
आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय तथा त्रुटीरहित बनाउन सबै मतदाता र सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

