एमाले महाधिवेशन : प्रतिनिधि सूची अद्यावधिक अन्तिम चरण, २,२६२ जना प्रतिनिधि हुने
काठमाडौं,मंसिर १३। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अद्यावधिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टोली प्रतिनिधिहरुको विवरण प्रमाणीकरण गर्ने कार्यमा व्यस्त छ।
संगठन विभागका प्रमुख अधिकारीका अनुसार महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिमध्ये २ हजार १ सय ५४ जना निर्वाचनमार्फत चयन भएका छन्। त्यस्तै, १ सय ८ जना केन्द्रीय मनोनयनबाट आउने भएकाले प्रतिनिधिको कुल संख्या २ हजार २ सय ६२ पुग्नेछ।
तात्कालीन नेकपा (एस) बाट ‘घरफिर्ती अभियान’ मार्फत फर्किएकामध्ये तीन जनाले प्रतिनिधि हुन पाउने माग गर्दै निवेदन दिएका छन्। उनीहरूको विषयमा पार्टी सचिवालयले छिनोफानो गर्ने अधिकारीले बताए।
धनकुटा र ओखलढुंगामा देखिएको प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधान भइसकेको छ। ती जिल्लामा अन्तरपार्टी निर्देशन १३ अनुसार प्रक्रिया नपुगेपछि केन्द्रले पुनः मापदण्ड बनाएर प्रतिनिधि छान्न निर्देशन दिएको थियो। त्यसअनुसार दुवै जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भइसकेका छन्। अन्य तीन जिल्लामा परेको उजुरीको निराकरण प्रक्रिया जारी छ।
प्रतिनिधि चयनमा मापदण्ड नपुगेको भन्ने उजुरीका आधारमा केही व्यक्तिको कार्ड नबन्ने संगठन विभागले बताएको छ।
“हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरुको भेरिफिकेसन पूरा गरिसकेका छौं,” अधिकारीले भने।
महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधिसँगै सल्लाहकार परिषद्का ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्नेछन्। यससँगै महाधिवेशनमा सहभागीहरूको कुल संख्या २ हजार ६ सय १३ रहनेछ।
यसैबीच, प्रतिनिधिहरुको परिचयपत्र छपाइको काम पनि तीव्र रुपमा भइरहेको छ। करिब ७० प्रतिशत कार्ड छपाइ भइसकेको र बिहीबारसम्म सम्पूर्ण प्रतिनिधि छनोट तथा कार्ड छपाइको काम पूरा हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

